Sun. Apr 28th, 2024

पौडीमा गौरिका सिंहलाई स्वर्ण पदक

काठमाडौं, २०७६ मंसिर १९ गते बिहीबार ।

गौरिका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदक जित्नुभएको छ । उहाँले २०० मिटरको फ्रि स्टाइल स्पर्धामा भारतकी शिवांगी शर्मालाई हराउँदै स्वर्ण पदक जित्न सफल हुनुभएको छ ।

गोरखापत्र अनलाईनका अनुसार सातदोबाटोस्थित कम्प्लेक्समा सम्पन्न पौडीको स्पर्धामा उहाँले निर्धारित दूरी दुई मिनेट पाँच दशमलब शुन्य छ सेकेण्डमा पुरा गर्नुभयो । भारतकी शिवांगीले उक्त दूरी पार गर्न दुई मिनेट सात दशमलब १९ सेकेण्ड लाग्यो। दक्षिण एसियाली खेलकुदको पछिल्लो संस्करणमा उहाँले एक रजतसँगै तीन कास्य पदक जित्नुभएको थियो ।

ब्राजिलको रियो दे जेनारियोमा सम्पन्न २०१६ को ग्रीष्मकालीन ओलम्पिकमा विश्वकै सबैभन्दा कान्छो ओलम्पियानको रुपमा सहभागी हुनुभएको थियो । पौडीको महिला १०० मिटर विधामा सहभागी हुँदा उहाँको उमेर मात्र १४ वर्ष थियो । गौरिकाले तेह्रौं संस्करणको विभिन्न ९ विधामा सहभागी हुने तय गरिएको छ । गौरिका हाल २०२० को टोक्यो ओलम्पिकका लागि छात्रवृत्ति पाएर बेलायतको लण्डनमा प्रशिक्षणरत रहँदै तेह्रौं सागमा सहभागी हुनुभएको छ । गौरिकाको स्वर्णसँगै नेपालले ३३ औं स्वर्ण पदक जितेको छ ।

यसअघि बुद्धिबहादुर तामाङले नेपालको लागि ऐतिहासिक ३२ औं स्वर्ण पदक दिलाउनुभयो । उहाँले साइक्लिङ्गको क्रस कन्ट्री पुरुष विधातर्फ स्वर्ण हात पार्नुभयो । त्यसैगरी, लक्ष्मी मगरले साइक्लिङ्गको क्रस कन्ट्री विधामा स्वर्ण पदक जित्नुभयो । उक्त स्पर्धामै उषा खनालले रजत पदक प्राप्त गर्नुभयो । गोकर्णमा साइक्लिङ्ग क्रस कन्ट्री विधामा चार किलोमिटर दूरी लक्ष्मीले १ मिनेट२०.२० सेकेण्डमा पुरा गर्नुभयो । उषाले उक्त दूरी १ मिनेट ३५.५२ सेकेण्डमा पुरा गर्नुभयो । सोही स्पर्धामा भारतकी प्रनिता प्रफुल सोमनले दूरी पार गर्न एक मिनेट ३६.२९ सेकेण्ड लगाएर कास्य पदक प्राप्त गर्नुभयो ।

साइक्लिङ्गमै नेपालले बुधबार दुई स्वर्ण जितेको थियो । बुधबार साइक्लिङ्गको डाउनहिल स्पर्धामा राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण पदक दिलाउनुभएको थियो । बुद्धिबहादुर र लक्ष्मीको स्वर्णसँगै नेपालले साइक्लिङ्गमा चार स्वर्ण जोडेको छ । निमा घर्तीमगरले १३ औं दक्षिण एसियाली खेलकुद सागको ऊसु विधा अन्तगर्तको थाउलो नान्दौमा स्वर्ण पदक जित्नुभएको छ । उहाँले बङ्गलादेशकी मोर्जिना अख्तरलाई पराजित गर्नुभयो ।

लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार सम्पन्न खेलमा निमाले १८.१९ स्कोर ल्याउन स्वर्ण पदक जित्नुभयो । बङ्गलादेशकी अख्तरले १६.३ अङ्क ल्याउनुभयो । श्रीलङ्काकी सञ्जु कुमारीले १४.७९ अङ्क जोडेर उक्त विधामा कास्य पदक जित्नुभयो । निमाले यसअघि १२ औं दक्षिण एसियाली खेलकुदमा समेत स्वर्ण पदक जित्नुभएको थियो । उहाँले उसुमा लगातार दुईपटक स्वर्ण पदक जित्ने कीर्तिमान समेत बनाउनुभयो ।

नेपालले साग उद्घाटनको दोस्रो दिन सबैभन्दा बढी १५ स्वर्ण जितेको थियो । मङ्गलबार ८ स्वर्ण जितेको नेपालले बुधबार ऊसु, कराँते र डुवायथोलन तथा तेक्वान्दोमा एक एक र साइक्लिङ्गमा दुई स्वर्ण थप्दै २९ स्वर्ण पुर्याएको थियो । पदक तालिकामा नेपाल दोस्रो स्थानमा यथावत छ । भारतले ४० स्वर्णसहित पदक तालिकामा शिर्ष स्थानमा छ ।

भारत्तोलनमा नेपाली महिलाको पहिलो स्वर्ण, नेपालको स्वर्ण संख्या ३६
दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला खेलाडीले भारत्तोलनमा पहिलो पटक स्वर्ण पदक जितेको छ । नेपाललाई उक्त अवसर सञ्जु चौधरीले जुराउनुभयो । उहाँले पोखरामा सम्पन्न महिला ५९ किलो तौल समूहमा स्वर्ण जित्नुभएको हो । क्लिन एण्ड जर्कमा ५९ किलो र स्न्याचमा ७४ गरी कुल १७१ किलो तौल उचाल्नुभयो ।

Facebook Comments