धरहराको उद्घाटन आज विहान ११ वजे
काठमाडौं, २०७८ बैशाक ११ गते शनिबार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ वजे एक भव्य समारोहबीच नयाँ धरहराको उद्घाटन गर्दै हुनुहुन्छ । भत्किएको धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनेको छ । २०७२ साल बैशाक १२ गतेको महाविनासकारी भूकम्पले ढालेको धरहराको टावर बनाउने सम्पन्न भएसँगै धरहराको उद्घाटन गरिन लागेको हो ।
नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ । यस्तै धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
धरहराको उद्घाटन आज गरिए पनि तत्काल अवलोकन गर्न भने पाइने छैन । आउँदो मंसिरसम्म सबै काम सकेपछि मात्रै सबैका लागि धरहरा खुला गर्ने तयारी भएको पुनर्निर्माण प्राधिकरणका विज्ञ इञ्जिनियर राजुमान मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण हुन लागेको छ ।
धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भुइँतलासहित २३ तला हुनेछ । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३ दशमलव ८५ मिटर छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने मानन्धरले बताउनुभयो ।
लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भर्याङसमेत जडान गरिएको छ । धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २० औं तला बाहिर २ दशमलव ५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२ औं तलामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ ।