Thu. May 9th, 2024

अमेरिकाले बनाइदिएका अत्याधुनिक पोलिग्राफ परीक्षण कक्षहरु नेपाल प्रहरीलाई हस्तान्तरण

काठमाडौं, २०७६ मंसिर १७ गते मंगलबार ।

अमेरिकी राजदूताबासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय चपूर रौतहटमा तयार गरिएका अत्याधुनिक पोलिग्राफ परीक्षण कक्षहरु हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच उक्त कक्षहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट कार्य एवं अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की र अमेरिकी राजदूताबासको तर्फबाट कार्यक्रम प्रबन्धक कार्ल ए रिशिमले हस्तान्तरणपत्रमा हस्ताक्षर गर्नुभएको थियो।आजको खवर अनलाईनका अनुसार नेपाल प्रहरीमा पोलीग्राफ प्रविधिको सुरुवातदेखि नै यसको विकासको लागि अमेरिकी राजदूताबासबाट आर्थिक, प्राविधिक तथा भौतिक सहयोग प्राप्त हुँदै आएको नेपाल प्रहरीले जनाएको छ ।

हालसम्म अमेरिकी राजदूताबासले पोलीग्राफ उपकरणसहित नेपाल प्रहरीका ३९ जना प्रहरी अधिकृतहरुलाई पोलिग्राफ परीक्षक आधारभूत तथा उन्नत तालिमको व्यवस्था, ११ स्थानमा सुविधा सम्पन्न पोलिग्राफ परीक्षण कक्ष तयार गर्नुको साथै पोलिग्राफ परीक्षकहरुलाई आवश्यक पर्ने अन्तर्राष्ट्रिय स्तरको सदस्यता प्रदान तथा नवीकरणको व्यवस्थासमेत गर्दै आएको छ ।

Facebook Comments