Sun. Apr 19th, 2026

छत्रपाटी नि:शुल्क चिकित्सालयमा चिनियाँ खोप लगाउनेहरुको घुईचो

       

काठमाडौं, २०७७ चैत २७ गते शुक्रबार काठमाडौंको छत्रपाटी नि:शुल्क चिकित्सालयमा चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको “भेरो सेल” नामक कोरोना भाइरस विरुद्धको खोप लगाउनेहरुको घुईचो लागेको छ । सो चिकित्सालयमा एक कार्यक्रमको आयोजना गरि बुधबारदेखि भव्यताका साथ खोप कार्यक्रमको सुभारम्भ गरिएको हो।

चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भ्वाईस अफ काठमाडौंलाई दिनुभएको जानकारी अनुसार सो स्वास्थ्य संस्थामा चीनमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी, चीन अध्ययन गर्न जाने नेपालीहरु, हिमालय सीमापार व्यापारमा सहभागी व्यापारीहरु, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, प्राध्यापक, सर्वसाधारण आदिलाई खोप लगाउने कार्यक्रम भैरहेको छ ।

चीनमा अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीहरुको पुरानो तथा लोकप्रीय संस्था अरनिको समाज, चिकित्सालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त प्रयासमा सो खोप कार्यक्रम सञ्चालन गरिएको हो । डा. श्रेष्ठका अनुसार सो चिकित्सालयमा बुधबार २ सय ८६ जना, बिहीबार ४ सय ११ जना र आज शुक्रबार ५ सय ५० जनाले खोप लगाएका छन् । खोप लगाउनेहरुमा विभिन्न पेशा र व्यवसायमा सम्लग्न भई नेपालमा बसिरहेका चिनियाँ नागरिकहरुको समेत सहभागीता रहेको छ ।

डा. श्रेष्ठका अनुसार सो चिकित्सालयमा नेपालको पहिलो ऐतिहासिक नेवारी चलचित्र राजामतीका नायक तथा नायिका, विभिन्न राजनीतिक दलका नेताहरुले खोप लगाउनु भएको छ । आज शुक्रबार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह श्रेष्ठकी श्रीमति सिर्जना सिंहले पनि खोप लगाउनु भएको छ ।

Facebook Comments