Fri. Dec 27th, 2024

चीनले अनुदानमा दिएको कोरोना विरुद्धको खोप लगाउन थालियो

काठमाडौं, २०७७ चैत २५ गते बुधबार चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाईरस विरुद्धको भेरोसेल खोप पहिलो चरणमा आजदेखि लगाउन सुरु गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न १४ वटा स्वास्थ्य संस्थाबाट सो खोप लगाउन सुरु गरिएको हो । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रमको सुरुवात गर्न नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पुग्नुभएको थियो ।

निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमामा रहेका केन्द्रबाट खोप लगाउन सुरु गरिएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट पनि यो खोप लगाउन सुरु भएको छ ।

तोकिएका सबै अस्पतालहरुमा खोप लगाउन मानिसहरु उत्साहीहुँदै विहान ८ वजे नै पुगेका थिए । सिमित मात्रामा खोप आएकोले आफुले लगाउन नपाईने होकि भन्ने चिन्ता अधिकांशमा पाईन्थ्यो । खोप लगाउन आउने अधिकांशले मास्क प्रयोग गरेका भए पनि सामाजिक दूरी भने कतै पनि पालना गरिएको पाईएन । तर मध्यान्ह सम्म पनि मानिसहरु धीरतापूर्वक आफ्नो पालो कुरिरहेका देखिन्थे ।

चिनियाँ अनुदानको खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, प्राध्यापकलगायतलाई यो खोप लगाइनेछ ।

Facebook Comments