Fri. Sep 20th, 2024

कर्णालीमा एमालेका मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

काठमाडौं, २०७७ चैत २४ गते मंगलबार  कर्णाली प्रदेशमा सहभागी भएका एमालेका तीन जना मन्त्रीहरुले सामूहिक राजीनामा दिनुभएको छ । उहाँहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मंगलबार सामुहिक रुपमा राजीनामा बुझाउनु भएको हो ।

आथिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिनुभएको हो । सरकारमा एमालेका तीन जना मन्त्रीहरु सहभागी हुनुहुन्थ्यो। मुख्यमन्त्री शाहीलाई राजीनामा पत्र बुझाएलगत्तै उहाँहरुले पत्रकार सम्मेलन गरेर राजीनामा दिएको जानकारी दिनु भएको हो । आथिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि आफूहरुले मन्त्री पदमा राजीनामा दिने निर्णय गरेको बताउनुभयो ।

यही चैत ५ गतेदेखि लागु हुने गरी एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो । अब मन्त्रीहरुले राजीनामा दिएसँगै माओवादी नेतृत्वको कर्णाली सरकार अल्पमतमा परेको छ । कर्णालीमा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना प्रदेश सभा सदस्य छन् । गोरखापत्र

Facebook Comments