Fri. Sep 20th, 2024

तीन हजार ९६३ परीक्षणमा १४५ सङ्क्रमित, ९० निको भए

- क्वारेन्टिन र आइसोलेसनको अवस्था अपडेट गराउन गृहको परिपत्र

काठमाडौं, २०७७ चैत ११ गते बुधबार नेपालमा कोरोना भाइरसका १४५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका १४५ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको उल्लेख गरेको छ ।

पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार ९६३ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. सन्दिपकुमार अधिकारीले बताउनुभएकाे हाे । । यस्तै, ९० जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार १८७ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार १८२ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले हाल ६३ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा एकजनाकाे मृत्यु भएकाे छ । हालसम्म तीन हजार २० जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।

यस्तै, काठमाडाैं उपत्यकामा ६३ जनामा काेराेनाकाे भाइरस थप भएकाे छ । भक्तपुरमा दुई, ललितपुरमा आठ र काठमाडाैं जिल्लामा ५३ जना सङ्क्रमित भएका छन् ।

क्वारेन्टिन र आइसोलेसनको अवस्था अपडेट गराउन गृहको परिपत्र

सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनको अवस्था अपडेट गराउन परिपत्र गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन फेरि पनि आवश्यक पर्ने अवस्थालाई मध्यनजर गरेर अपडेट राख्न परिपत्र गरिएको गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

मन्त्रालयले यही चैत्र ९ गते सबै जिल्लालाई परिपत्र गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै केही दिनअघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी कोरोना संक्रमण फैलिन सक्ने भएकाले भिडभाड, सभा, जुलुस नगर्न आह्वान गरेको थियो । गोरखापत्र

Facebook Comments