Fri. Sep 20th, 2024

लकडाउनको एक वर्ष पुरा भए पनि कोरोना सङ्क्रमणको चुनौती उस्तै

फाईल फोटो

काठमाडौं, २०७७ चैत ११ गते बुधबार कोरोना सङ्क्रमणका कारण नेपालले बन्दाबन्दी (लकडाउन) गरेको एक वर्ष पुगेको छ । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनाभन्दा बढी समय लकडाउन कायम रहेको थियो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै भदौबाट मात्र नेपालमा केही सहज अवस्था भएको हो ।

लकडाउन गरेको वर्ष दिन बित्न नपाउँदै नेपालमा कोरोनाको दोस्रो लहर आएको अनुमान लगाउन थालिएको छ । दैनिक ५०/५५ जना सीमित सङ्क्रमित ह्वात्तै बढेर १८८ जनासम्म पुगेको छ । मङ्गलबार मात्र १८८ जना नयाँ सङ्क्रमित थपिएका छन् । केही दिन पहिलेसम्म यो सङ्ख्या सयभन्दा कम सङ्ख्यामा थियो । यसबाट नेपालमा सङ्क्रमण बढ्न सक्ने देखाएको छ ।

केही दिनयता भारतका केही प्रान्तमा हालसम्मकै धेरै सङ्ख्यामा कोरोना सङ्क्रमित बढ्न थालेपछि नेपालमा केही सतर्कता अपनाइएको छ । भारतसँगको खुला सिमाना भएका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले अस्पतालमा केही दिनअघिसम्म एक/दुई जना मात्र कोरोना सङ्क्रमितका बिरामी हुने गरेकोमा हाल सात जना भर्ना भइसकेको जानकारी दिनुभयो । सात जनामध्ये पाँच जना आईसीयू तथा दुई जना आइसोलेसन वार्डमा उपचाररत छन् ।

सातदेखि १० प्रतिशत रहेका सङ्क्रमित मङ्गलबारसम्म आइपुग्दा २० प्रतिशतमा वृद्धि भएको जानकारी दिँदै डा. राजभण्डारीले पछिल्लो समय मानिसले कोरोनालाई बेवास्ता गर्न थालेको बताउनुभयो । सार्वजनिक यातायातमा सडकमा हिँड्ने सबैले मास्क प्रयोग गर्न छोडेको जानकारी दिँदै उहाँले कोरोनालाई बेवास्ता गरे यसको दोस्रो वेभ पहिलेको भन्दा खतरा हुनसक्ने बताउनुभयो ।

सभा, सम्मेलन, धर्ना, जुलुस, जमघटजस्ता कार्य गर्न बन्द गर्नुपर्ने बताउँदै निर्देशक डा. राजभण्डारीले नागरिक आफैँ सचेत बन्नुपर्नेमा जोड दिनुभयो । सबैले आ-आफ्नो ठाउँबाट लाग्न सके कोरोनालाई परास्त गर्न सकिने उहाँले बताउनुभयो ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले भारतमा कोरोना भाइरस बढ्नुले नेपाललाई थप जोखिम बढाएको बताउनुभयो । भारतमा सङ्क्रमण बढ्दै जाँदा कोरोना भाइरस नयाँ ढङ्गबाट फैलिरहेको हो कि भन्ने शङ्का उब्जाएको उहाँले बताउनुभयो ।

कोरोनाको जोखिमलाई बेवास्ता गरेर धेरै जना फुक्काफाल हिँडिरहेको भन्दै यसले धेरै ठूलो प्रभाव पार्न सक्ने चेतावनी डा. बास्तोलाले दिनुभयो । पछिल्लो समय युरोपेली देश मात्र होइन छिमेकी देश भारतमा पनि कोरोना सङ्क्रमणको नयाँ अध्याय सुरु भएको बताउँदै उहाँले त्यस्तै असर नेपालमा पर्न सक्नेतर्फ सावधानी अपनाउन सुझाव दिनुभयो ।

डा. बास्तोलाले भारत, बङ्गलादेशमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको भन्दै नेपालमा यो बढ्दो क्रममा रहेको बताउनुभयो । मानिसले जनस्वास्थ्य मापदण्ड नअपनाएका कारण सङ्ख्या बढ्न सक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड पूरा गर्न डा. बास्तोलाले आग्रह गर्नुभयो । गोरखापत्र

Facebook Comments