Fri. Sep 20th, 2024

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माणको काम अन्तिम चरणमा

काठमाडौं, २०७७ चैत ६ गते शुक्रबार मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीको पानी सुरुङमा पथान्तरण गर्नुअघि पानीको प्रारम्भिक प्रशोधनका लागि ‘हेडबक्स’को निर्माण गरिँदैछ । अहिले नदीको पानीलाई सीधै सुरुङमा हालिएको छ । हेडबक्स लगभग दुई महिनामा तयार हुनेछ । हेडबक्स तयार नभए पनि चैत १५ देखि परीक्षणको काम भने जारी नै रहने छ ।

आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले डिसेम्बरमै ‘हेडबक्स’ निर्माण सम्पन्न गर्ने अन्तिम समयावधि रहे पनि कोभिड-१९ को महामारीका कारण काम सम्पन्न हुन नसकेकाले छ महिना थप गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले ‘हेडबक्स’ को भौतिक काम पूरा भइसकेको छ, त्यहाँ जडान गर्नुपर्ने कतिपय हाइड्रो मेकानिकल उपकरण, स्वचालित यन्त्र तथा विद्युतीकरणसम्बन्धी उपकरण विदेशबाट आउने क्रममा छन् । आउने बित्तिक्कै जडान कार्यसँगै ‘हेडबक्स’ को सम्पूर्ण काम सम्पन्न हुनेछ ।”

हेडबक्समा ‘सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा)’ प्रणाली जडानको कामसमेत भइरहेको छ । सुरुङको परीक्षण सम्पन्न भएसँगै ‘हेडबक्स’ को समेत काम सम्पन्न हुने र स्थायी रूपमा मेलम्चीको पानी ‘हेडबक्स’ भएर सुरुङमा पथान्तरण गरिने प्रवक्ता पन्तले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हेडबक्सले इन्टेकमा भएका विभिन्न ढोकालाई सफा गर्ने, पानीसँगै आएका गिट्टी बालुवालाई छुट्याउने र थुपार्ने, पानीमा मिसिएका घुलनशील पदार्थलाई थिग्र्याउने गर्छ ।” हेडबक्सबाट यी सबै प्रक्रिया पूरा भइसकेपछि मात्र पानी सुरुङ पथान्तरण गरिने प्रवक्ता पन्तले स्पष्ट पार्नुभयो । वर्षायामको एक डेढ महिना मात्र मेलम्चीको पानी धमिलो हुन्छ तर अहिले पानी सफा नै रहेकाले फोहोरको समस्या नरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पानी पथान्तरण गर्दा सुरुङमा फोहोर छिरेको अवस्थामा सुरुङभित्र पनि पानी प्रशोधन गर्न ‘वाटर अडिट मेकानिज्म’ जडान गरिएको छ । यस प्रणालीअन्तर्गत पानीमा रहेको फोहोर सुरुङको पिँधमा गएर थिग्रिन्छ जसलाई पछि पखाल्न सकिन्छ ।” ‘जिक्ज्याक’ आकारमा निर्माण गरिएको सुरुङको तल्लो भागमा ‘वाटर अडिट मेकानिज्म’ जडान गरिएको छ, जसमा पानीमा रहेका फोहोर सजिलै थिग्रिन सक्छ ।

निर्माण हुँदै ‘स्काडा’
मेलम्चीको पानीलाई सहज र सरल रूपमा उपत्यकावासीको धारासम्म पुर्याउन आयोजनाले ‘सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा)’ प्रणालीको निर्माण गरिरहेको प्रवक्ता पन्तले बताउनुभयो । सहज र सुरक्षित खानेपानी वितरणका लागि संसारभरि नै अपनाइएको अहिलेसम्मकै यो अत्याधुनिक कम्प्युटराइज्ड स्वचालित प्रणाली हो ।

‘स्काडा’ अनुगमन प्रणाली जडानका लागि यो प्रणाली जडानका लागि ठेक्कापट्टा भई निर्माण कार्य सुरु भइसकेको बताउँदै उहाँले निर्माण कम्पनीले सर्भेको काम सुरु गरिसकेको जानकारी दिनुभयो । निर्माणको जिम्मा फ्रेन्च कम्पनी भीसीजीपी डब्लूएमआई (वाटर म्यानेजमेन्ट इन्टरनेसनल) र नेपाली कम्पनी कालिका (जेभी)ले पाएका छन् ।

यो अनुगमन तथा नियन्त्रण प्रणालीको जडानसँगै एउटा कोठामा बसेर कम्प्युटरको माध्यमबाट पानी प्रशोधन केन्द्रको सञ्चालन, अनुगमनका साथै पाइपलाइनमा कुन गतिमा पानी प्रवाहको अनुगमन तथा नियन्त्रण गर्न सकिने प्रवक्ता पन्तले जानकारी दिनुभयो । गोरखापत्र

Facebook Comments