Fri. Sep 20th, 2024

एमालेको नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदै

- भेला रोक्न आग्रह गर्दै त्यसो नगरे कारबाही गर्ने अध्यक्ष ओलीको चेतावनी

काठमाडौं, २०७७ चैत ४ गते बुधबार

नेकपा एमालेको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदैछ । ललितपुरमा आयोजना हुँने दुई दिने भेलामा सहभागी हुन जिल्ला-जिल्लाबाट नेताहरु काठमाडौं आइसकेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते अध्यक्ष र महासचिवबाहेकका पदाधिकारीको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल पक्षले त्यसको विरोध गर्दै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो ।भेलामा ओलीको कदम र भावी कार्यदिशाबारे छलफल हुँने बताइएको छ ।

नेपाल पक्षले भेला बोलाएपछि त्यसलाई रोक्न भन्दै ओलीले नेपाल पक्षसँग वार्ता गर्नुभएको थियो । ओलीले आफूले गरेका निर्णय फिर्ता नलिने तर भेला भने रोक्न आग्रह गरेपछि नेपाल पक्ष झनै असन्तुष्ट बनेको छ ।

त्यस्तै नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको जिम्मेवारी खोसिएपछि नेपाल पक्षले समानान्तर कमिटीसमेत बनाएको छ । नेपाल पक्षले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको छ ।

यसैबीच यसैबीच प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलभित्रको असन्तुष्ट पक्षले बोलाएको भेला रोक्न आग्रह गर्दै त्यसो नगरे कारबाही गर्ने चेतावनी दिनु भएको छ ।

बालुवाटारमा मंगलबार आफूले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उहाँले पार्टीका नेता र कार्यकर्तालाई “गुटगत” भेलामा सहभागी नहुन”सचेत र सजगू गराउँनु भयो। तर माधव नेपाल र झलनाथ खनालको समूहले मङ्गलवार राजधानीमा पत्रकार सम्मेलन गरी बुधवारदेखि सुरु हुने दुईदिने भेला नरोक्ने बताएको छ।

सर्वोच्च अदालतले दिएको आदेशले नेकपा एमालेलाई ब्युँतिएपछि माधव नेपाल र झलनाथ खनालसहितका नेताहरू पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्य छोड्न बाध्य हुँनुभएको थियो ।

Facebook Comments