Fri. Sep 20th, 2024

हिमाल सफाइ अभियानबाट नेपाली सेनाले ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य

काठमाडौं, २०७७ चैत २ गते सोमबार

नेपाली सेनाले हिमाल सफाइ अभियान थाल्ने भएको छ । त्यस क्रममा विभिन्न छवटा हिमालमा रहेको ३५ टनसम्म फोहोर सङ्कलन गरिने भएको छ । अन्य विभिन्न सङ्घ संस्थासँगको समन्वयमा नेपाली सेनाले अगामी महिना सञ्चालन गर्न लागेको सफा हिमाल अभियानमा उक्त परिमाणमा फोहोर सङ्कलन र व्यवस्थापन गरिने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । सरसफाइ अभियान यही चैत ३१ देखि सुरु हुने जानकारी दिइएको छ । वैशाख २ गते टोली हिमाल प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । सरसफाइमा जाने विभिन्न समूहलाई २१ दिनको तालिम प्रदान गरिएकोे छ ।

प्रवक्ता पौडेलका अनुसार सगरमाथाबाट १६ टन, ल्होत्से हिमालबाट एक टन, मकालु, धौलागिरि र आमादब्लमबाट पाँच-पाँच टन, पुमोरी हिमालबाट तीन टनसम्म फोहोर सङ्कलन गरिनेछ । सफा हिमाल अभियानले प्रदूषण नियन्त्रण र हिमाल सरसफाइबाट विश्वव्यापी तापक्रमको नियन्त्रणमा टेवा पुर्याउने, पर्वतीय अर्थोपार्जनमा सरकारलाई सघाउने, पर्यटनको साथसाथै पर्वतारोहीलाई आकर्षित गर्ने, भावी पुस्ताका लागि हिमाल संरक्षण गर्ने लक्ष्य लिएको छ ।

सङ्कलित फोहोरलाई जैविक र अजैविक रूपमा वर्गीकरण गरिनेछ । सङ्कलित फोहोरलाई विश्व वातावरण दिवस जुन ५ का दिन हस्तान्तरण गरिने पौडेलले बताउनुभयो । हिमाल आरोहणका क्रममा फोहोर थुप्रिएर हिमाल प्रदूषित बन्दै गएकोमा चिन्ता पनि बढेको छ । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा मात्रै तीन सयभन्दा बढी आरोहीको शवसहित १४ हजार टन फोहोर रहेको अनुमान गरिएको छ ।

अभियानको सुरुवाती चरणमा भइरहेका विभिन्न अन्तरक्रिया र सम्मेलनमा प्रस्तुत गरिएको कार्यपत्रमा सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रमसँगै यहाँ बेवारिसे शव र अन्य फोहोरले हिमाल प्रदूषित हुँदै गएको उल्लेख गरिएको छ । सेनाका प्रवक्ता पौडेलका अनुसार सगरमाथा क्षेत्रमा आरोहणका लागि जाँदा बेपत्ता भएका आरोहीका शव रहेका छन् । यो नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ लगायतका विभिन्न सङ्घ संस्थाले गरेको अध्ययनपछि निकालिएको अनुमानित तथ्याङ्क भएकाले तीन सयभन्दा बढी शव हुनसक्ने बताउनुभयो । गोेरखापत्र

Facebook Comments