Sat. Apr 27th, 2024

विराटनगरमा आज नेकपाको जनसभा हुँदै: प्रधानमन्त्री ओली, गृहमन्त्री वादल लगायतले सम्बोधन गर्ने

विराटनगर, २०७७ फागुन ८ गते शनिबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समुहले आज प्रदेश नम्बर १ को राजधानी विराटनगरमा विशाल जनसभाको आयोजना गर्ने भएको छ । ओली समुहले विराटनगरमा पहिलो पटक शक्ति प्रदर्शनसहित जनसभा गर्न लागेको हो ।

नेकपा ओली समुहका केन्द्रीय सदस्य विनोद ढकालका अनुसार जनसभालाई मुख्य वक्ताकोरुपमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुवास चन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जनसभाको मुलनारा “अस्थिरता, अराजकता, विखण्डन र राष्ट्रियआत्मसमर्पणवादका विरुद्धको अभियान, संविधान, राष्ट्रियताको रक्षा, समृद्धि र स्थायित्वका लागि ताजा जनादेश हाम्रो आह्वान” भन्ने रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर १ को आयोजनामा हुने सो जनसभा विराटनगर महानगरपालिका वडा नं.२ स्थित विराट नर्सिङ होम नजिकै रहेको औद्योगिक प्रदर्शनी क्षेत्रमा गरिने जनसभामा एक लाख भन्दा धेरै पार्टी समर्थक नेता तथा कार्यकर्ताको सहभागीता हुने आयोजक समितिको दाबी रहेको छ ।

नेता ढकालले जनसभाको सम्पूर्ण तयारी पुरा भएको हाम्रो जानकारी दिनुभएको छ । ‘मञ्च व्यवस्थापनको काम सवै सकिएको छ, विभिन्न ठाउँबाट जन सहभागिता हुन्छ । १२ बजेदेखि विराटनगरका विभिन्न छ वटा पइन्टबाट जुलुस निस्किन्छ ।’ ढकालले भन्नुभयो,‘ ११ बजेदेखि सांस्कृतिक कार्यक्रम सुरु हुन्छ । साढे १२ बजेदेखि जनसभा सुरु हुन्छ ।’

उहाँका अनुसार प्रधानमन्त्री ओली विहान ११ बजे विराटनगरमा आउने र सभालाई सम्बोधन गर्दै अरु केही कार्यक्रममा सहभागी भएर दिउँसो ४ बजे फर्कने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीसहित शिर्ष नेताहरु विराटनगर आउने भएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ शुक्रबारबाटै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानबाट सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

शनिबार बिहानैदेखि विराटनगरमा ठूलो संख्यामा सादा पोसाक र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएका छन् । ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ ।

गत ५ पुस गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा बैचारिक रुपमा दुई समुहमा विभाजित छ । प्रतिनिधिसभा विघटनको मुद्धा सर्बोच्च अदालतमा विचाराधिन छ । नेकपाको एउटा समुहको नेतृत्व प्रधानमन्त्री ओलीले गर्नुभएको छ भने अर्को समुहले नतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गर्नुभएको छ ।

Facebook Comments