Fri. Sep 20th, 2024

नेपाली काँग्रेसको महाधिवेशन भदौको ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव

काठमाडौं, २०७७ फागुन ५ गते बुधबार

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौँको ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव गरिएको छ । फागुन पहिलो साता महाधिवेशन गर्ने कार्यतालिका कार्यान्वयन नहुने भएपछि त्यसलाई परिमार्जन गर्दै काँग्रेसले भदौँ पहिलो साता महाधिवेशनको प्रस्ताव गरेको हो ।

बैठकका पार्टीका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको नयाँ मितिको प्रस्ताव बैठकमा गर्नुभएको थियो । यसका साथै पार्टीको महाधिवेशन अन्तरगत बडास्तरको अधिवेशन असार २० गतेबाट प्रारम्भ गर्ने प्रस्ताव बैठकमा गरिएको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधिन विषयमा धेरै विवाद गर्न नहुने विचार व्यक्त गर्नुभएको थियो । साथै अदालतको फैसला अनुसरण गर्दै पार्टी अघि बढ्नुपर्ने विचार बैठकमा राख्नुभएको थियो ।

गोरखापत्रका अनुसार बैठकमा सभापति देउवाभन्दा फरक मत राख्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा राजनीतिक रुपमा गम्भीर परिस्थितिमा रहेको उल्लेख गर्दै त्यसको दायित्व नेपाली काँग्रेसले लिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । बैठकमा पौडेलले यस अवस्थामा प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा पार्टीले आधिकारिक निर्णय नै गर्नुपर्छ भन्नेमा जोड दिनुभएको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिनुभयो । बैठकमा पौडेलले मोही माग्ने तर ढुङ्ग्रो लुकाउने काम गर्न नहुने भन्दै यस राजनीतिक विषयमा कार्यकर्तालाई स्पष्ट पार्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति देउवाको हालको कार्यकाल छ महिना थप गर्ने प्रस्ताव समेत गरिएको छ । देउवा नेतृत्वको पार्टीको केन्द्रीय कार्यसमितिको पाँच वर्षको कार्यकाल आगामी फागुन १० गते सकिदैछ । यसअघि पार्टीले एक वर्ष कार्यकाल थप गर्ने निर्णय गरेको थियो । काँग्रेसको विधान अनुसार पार्टीको कार्यसमितिको कार्यकाल चार वर्ष हो ।

बैठकमा पार्टीको विधान संशोधन गर्ने प्रस्ताव समेत बैठकमा राखिएको जनाइएको छ । पार्टीको केन्द्रीय समितिको बैठक बिहीबार ३ बजे पुनः बस्ने जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।

Facebook Comments