Fri. Sep 20th, 2024

 चीनले नेपाललाई पाँच लाख डोज खोप दिने

काठमाडौं, २०७७ माघ २६ गते सोमबार

 चीनले नेपाललाई कोभिड–१९ विरुद्धको पाँच लाख डोज खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रबार टेलिफोन संवादका क्रममा चिनिया परराष्ट्रमन्त्री वाङ यीले अनुदानमा पाँच लाख डोज खोप दिने घोषणा गर्नुभएको हो ।

आइतबार चिनिया राजदूतावासले नेपाललाई तीन लाख डोज खोप दिने निर्णय भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको थियो । परराष्ट्रमन्त्रीस्तरीय टेलिफोन संवादमा चीनले दुई लाख डोज थप दिने घोषणा गरेको हो ।

‘चीनमा परराष्ट्रमन्त्री वाङ यीले खोप सहयोग गर्ने सन्दर्भमा चीनले नेपाललाई प्राथमिकतामा राखेको बताउनुभएको छ र पाँच लाख डोज खोप अनुदानमा नेपाललाई दिने घोषणा गर्नुभएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार साँझ जारी विज्ञप्तिमा भनिएको छ । साँझ भएको टेलिफोन संवादमा दुवै देशका आपसी हितमा आधारित विषयहरूमा छलफल भएको पनि परराष्ट्रले जनाएको छ । अर्को छिमेकी भारतले यसअघि नै १० लाख डोज कोभिड खोप उपलब्ध गराइसकेको छ । खोप प्रयोगमा आइसकेको छ ।

चीनले नेपाललाई उपलब्ध गराउने खोप चिनिया कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । दुईपटक खोप लगाउँदा यसले ७९ दशमलव ३४ प्रतिशत प्रभावकारिता देखाइसकेको छ । खोपले ९९ दशमलव ५२ प्रतिशत एन्टिबडी बनाएको छ । हालसम्म चिनिया खोपको अढाई करोडभन्दा बढी डोज प्रयोगमा आइसकेको छ । नेपाललाई चीनले दिने खोपले करिब दुई लाखजनालाई लगाउन पुग्नेछ ।

नेपालले अनुदानमा खोप उपलब्ध गराइदिन भारत, चीन, अमेरिका, बेलायत, रुस, जर्मनी र फ्रान्सलाई कूटनीतिक पत्राचार गरेकोमा भारतबाट खोप आइसकेको छ । चीनबाट पाँच लाख डोज आउने निश्चित भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बेलायतले भारतसँग समन्वय गरेर खोप उपलब्ध गराउने वचन दिएको छ । रुसले स्पुतनिक खोप दिने जानकारी दिएको छ, तर विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउन बाँकी रहेका कारण नेपाल लिने मुडमा छैन । अमेरिका, जर्मनी र फ्रान्सले खोपका सम्बन्धका ठोस प्रतिबद्धता जनाएका छैनन् ।

खोप सहयोगका लागि परराष्ट्रमन्त्री ज्ञवालीले चीन सरकारलाई धन्यवाद दिएका छन् । खोपलाई चीनले वैश्विक सार्वजनिक सामग्रीमा रूपमा सूचीकृत गरेकोमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले प्रशंसा गरेका छन् ।

Facebook Comments