२०८३ मंसिर ८, मंगलवार

हिमालयको हिमक्षेत्रबारे विज्ञान, नीति र क्षेत्रीय सहकार्यसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै   

       

काठमाण्डू । हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका उपायबारे छलफल गर्न काठमाडौँमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आयोजनामा आगामी नोभेम्बर २५ देखि २७ (मङ्सिर ९ देखि ११)सम्म ललितपुरको खुमलटारस्थित इसिमोडको कार्यालयमा ‘एचकेएच क्रायोस्फियरका लागि विज्ञान, नीति तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुन लागेको हो ।

सम्मेलनमा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँ र हिमनदी पग्लिने क्रम, हिमताल विस्फोटजन्य बाढी, हिमपहिरो, जलस्रोत तथा पर्वतीय समुदायको जीविकोपार्जनमा जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल हुने ईसिमोडले जनाएको छ ।
इसिमोडका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा ध्रुवीय क्षेत्रबाहिर विश्वकै सबैभन्दा ठूलो हिमभण्डार रहेको छ । यस क्षेत्रबाट बग्ने नदीमा करिब दुई अर्ब मानिस निर्भर छन् । सन् १९७५ यता केही क्षेत्रमा हिमनदीको मोटाइ २७ मिटरसम्म घटेको अध्ययनले देखाएको छ ।

हिमनदी पग्लिने क्रम तीव्र हुँदै गए पनि त्यसको नियमित अनुगमन र तथ्याङ्क सङ्कलनमा चुनौती देखिएको छ । अनुगमनमा रहेका ३८ हिमनदीमध्ये १८ प्रतिशतले मात्र विश्व हिमनदी अनुगमन सेवा (डब्लुजीएमएस)ले तोकेको न्यूनतम मापदण्ड पूरा गरेका छन् । उक्त मापदण्ड पूरा गर्न कम्तीमा १० वर्षसम्म निरन्तर अवलोकन आवश्यक हुन्छ ।
तथ्याङ्कको अभावले हिमनदीमा भइरहेको परिवर्तनको दीर्घकालीन अनुमान, विपद् पूर्वतयारी तथा सरकार र समुदायले लिनुपर्ने नीतिगत निर्णय प्रभावित भइरहेको सम्मेलनको अवधारणामा उल्लेख छ ।

सम्मेलनमा हिमनदी तथा हिउँको अवस्था, हिमताल विस्फोटजन्य बाढी र हिमपहिरोको जोखिम, नदी प्रणाली, जलविद्युत्, सिँचाइ तथा पर्वतीय समुदायको जीविकोपार्जनमा पर्ने प्रभावलगायत विषयमा छलफल हुनेछ । साथै वैज्ञानिक अनुसन्धानलाई नीतिनिर्माणसँग जोड्ने, तथ्याङ्क आदानप्रदान गर्ने, क्षेत्रीय सहकार्य विस्तार गर्ने र लगानी बढाउने विषयमा पनि विमर्श हुनेछ ।

इसिमोडले स्विस पोलार इन्स्टिच्युट, क्रायोस्फियर फाउन्डेसन, पोलार रिसर्च सेन्टर र खलिफा विश्वविद्यालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनलाई स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसनले सहयोग गरेको छ ।

जलवायु तथा वातावरणीय जोखिम प्रमुख चियाङगोङ झाङले क्रायोस्फियर विज्ञानसम्बन्धी अन्तरराष्ट्रियकार्य दशकका सन्दर्भमा विज्ञान, नीति र क्षेत्रीय सहकार्यलाई एकै ठाउँमा ल्याउनु महत्वपूर्ण कदम भएको बताउनुभएको छ । उहाँले क्रायोस्फियरसम्बन्धी वैज्ञानिक प्रमाण, नीतिगत निर्णय र लगानीबीचको सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दै गएका हिममण्डलीय जोखिमको व्यवस्थापन, जलसुरक्षा, जनजीविकाको संरक्षण तथा पारिस्थितिक प्रणालीको दिगोपन सुनिश्चित गर्न विज्ञानमा आधारित निर्णय र क्षेत्रीय सहकार्य महत्वपूर्ण हुने झाङको भनाइ छ । उहाँले वैज्ञानिक तथ्यलाई नीतिगत निर्णय र लगानीसँग जोड्न सके मात्रै यस क्षेत्रका साझा चुनौतीको प्रभावकारी सम्बोधन गर्न सकिने धारणा व्यक्त गर्नुभयो । सम्मेलनमा क्षेत्रीय तथा अन्तरराष्ट्रिय वैज्ञानिक, नीतिनिर्माता, सरकारी निकाय र विकास साझेदारको सहभागिता रहनेछ । रासस

Facebook Comments