मिर्गौलाले काम गर्न छाडेपछि प्रिजलको उपचारका लागि परिवारको हारगुहार
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका चार वर्षीय प्रिजल मगरको दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवार उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल गरिरहेको छ ।
पेशलकुमार मगर र दुर्गा आलेमगरका एक मात्र सन्तान प्रिजल ११ दिनदेखि काठमाडौँस्थित कान्ति बाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन् । गत कात्तिक १२ गते सामान्य बान्ता गरेका प्रिजलको स्वास्थ्य अवस्था एकाएक बिग्रिएपछि कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो ।
विद्यालय भर्ना भएर भर्खरै अक्षर चित्र थालेका प्रिजलको दुवै मिर्गौलाले काम गर्न छाडेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । अस्पताल भर्ना भएको भोलिपल्टदेखि आईसीयूमा राखेर उपचार भइरहेको उनको अवस्था चिन्ताजनक रहेको परिवारले जनाएको छ ।
अस्पताल भर्ना भएदेखि पिसाबसमेत नगरेका प्रिजलको उपचार नेपालमा सम्भव नभएको चिकित्सकले बताएको उनका बुबा पेशलकुमारले जानकारी दिनुभयो । स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रँदै गएपछि कान्ति बाल अस्पतालले थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित सर गङ्गाराम अस्पताल लैजान सुझाव दिएको उहाँले बताउनुभयो ।
भारत लगेर शीघ्र उपचार नगराए छोराको ज्यान जोखिममा पर्ने चिकित्सकले बताएको पेशलकुमारले उल्लेख गर्नुभयो । “आफूसँग भएको र आफन्तसँग सापटी लिएको रकमले उपचार गरिरहेका छौँ । यहाँ उपचार सम्भव नहुने भनिएको छ । भारत लगेर उपचार गर्ने खर्च हामीसँग छैन”, उहाँले भत्रुभयो, “भारतको अस्पतालमा उपचार गर्न रु एक करोडभन्दा बढी लाग्ने बुझिएको छ । यति ठूलो रकम कसरी जुटाउने ? सबैले सकेको सहयोग गरेर हाम्रो छोराको ज्यान बचाइदिन अनुरोध गर्दछौँ ।”
प्रिजलको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गर्दै सामाजिक सञ्जालमार्फत ‘प्रिजल मगर बचाऔँ’ अभियान सञ्चालन गरेको छ । परिवारको आर्थिक अवस्थाले उपचार खर्च धात्र नसक्ने भएपछि सहयोग सङ्कलन अभियान सुरु गरिएको अभियानका सदस्य गिरिराज रानामगरले बताउनुभयो ।
अभियानका सदस्यले आफन्त तथा शुभेच्छुकलाई सामाजिक सञ्जाल र प्रत्यक्ष भेटघाटमार्फत सहयोगका लागि आग्रह गरिरहेका छन् । सहयोग गर्न चाहनेका लागि प्रिजलका बुबा पेशलकुमारको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नम्बर २२७०१००००३१९००१० र क्यूआर कोड उपलब्ध गराइएको छ ।
तिहारका समयमा छोराको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि परिवार चिन्तित बनेको छ । प्रिजललाई गुणस्तरीय शिक्षा दिलाउने उद्देश्यले पेशलकुमार र दुर्गा काठमाडौँमा कोठा भाडामा लिएर बस्दै आएका थिए । अस्पतालको प्रतिवेदनबाट छोराको दुवै मिर्गौलाले काम गर्न छाडेको थाहा पाएपछि उनीहरू थप चिन्तित बनेका छन् ।
तिहारमा भाइटीका लगाउन खार्मीस्थित घर जाने तयारीमा रहेका पेशलकुमार र दुर्गा अहिले छोराको उपचारका लागि भारत लैजाने तयारीमा जुटेका छन् । दशैँमा घर नआएका छोरा, बुहारी र नाति तिहारमा आउने प्रतीक्षामा रहेका प्रिजलका हजुरबुबा–हजुरआमा नातिको स्वास्थ्यमा जटिल समस्या देखिएको खबरपछि दुखित भएका छन् भने उहाँहरूले सहयोग गरिदिन अपिल गरेका छन् । रासस

