२०८३ भाद्र १२, शुक्रवार

नुवाकोटमा बाढी प्रभावितका लागि १२ अस्थायी शिविर सञ्चालन

       

नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको सुरक्षित बसोबास तथा राहत व्यवस्थापनका लागि नुवाकोटका विभिन्न स्थानीय तहमा १२ वटा अस्थायी शिविर सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयले विद्यालय, सामुदायिक भवन, कभर्ड हललगायत सार्वजनिक संरचनालाई अस्थायी शिविरका रूपमा प्रयोगमा ल्याएको जनाएको छ ।

भदौ १० गते त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिकाका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

विदुर नगरपालिका-७ तुप्चेमा रहेको पुस्तकालयमा सञ्चालन गरिएको शिविरमा करिब २०० जनासम्मलाई राख्न सकिनेछ । विदुर-१ त्रिशूली-ढुङ्गे र विदुर-४ सिमचौरस्थित सेफहाउस/क्रियापुत्री भवनमा करिब १०० जनासम्म राख्न सकिनेमा हाल १६२ जना रहेका छन् ।

विदुर-४ बट्टारको कभर्ड हलमा करिब २०० जनासम्म व्यवस्थापन गर्न सकिने व्यवस्था गरिएको छ । विदुर-५ देवीघाटस्थित आयुर्वेद वैकल्पिक चिकित्सालय तथा विदुर-१० बेत्रावती-भैँसेस्थित सुन्दरी क्यौरिनी माध्यमिक विद्यालयलाई पनि अस्थायी शिविरका रूपमा प्रयोग गरिएको छ । सुन्दरी क्यौरिनी माविमा ३०० जनासम्म बस्न सक्ने क्षमता रहेकामा हाल २५३ जना छन् ।

विदुर नगरपालिका-१ त्रिशूली बजारस्थित कोलोनी कभर्ड हल तथा विदुर-३ देविघाट सिटखालीस्थित रणभुवनेश्वरी माध्यमिक विद्यालय र वडा कार्यालयमा पनि प्रभावितलाई राख्ने व्यवस्था गरिएको छ । रणभुवनेश्वरी मावि र वडा कार्यालयमा करिब ३०० जनासम्म व्यवस्थापन गर्न सकिनेमा हाल ४५० जना बसिरहेका छन् ।

बेलकोटगढी नगरपालिका-रातमाटे-जिलिङस्थित महादेव माध्यमिक विद्यालयमा करिब २०० जनासम्मलाई राख्न सकिने व्यवस्था गरिएको छ ।

विदुर-९ स्थित त्रिशूली आधारभूत विद्यालयमा १०० जनासम्म राख्न सकिनेमा हाल ३५ जना छन् । सोही वडाको सुलक्षणा माध्यमिक विद्यालयमा पनि १०० जनासम्म व्यवस्थापन गर्न सकिनेमा हाल २० जना रहेका छन् ।

किस्पाङ गाउँपालिका-५ कार्कीगाउँस्थित कार्की मनकामना आधारभूत विद्यालयमा करिब ८० तथा किस्पाङ-५ अर्चलेस्थित त्रिभुवन माध्यमिक विद्यालयमा करिब २०० जनासम्मलाई राख्न सकिने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार शिविरमा प्रभावितको बसोबास व्यवस्थापनसँगै राहत वितरण, आवश्यक समन्वय र उद्धारपछिको व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । प्रभावितको अवस्था र आवश्यकताका आधारमा थप व्यवस्थापन गरिने जनाएको छ ।

राहत व्यवस्थापन तथा समन्वयका लागि प्रशासनिक अधिकृत रूपेशप्रसाद नेपाल, प्रशासनिक अधिकृत सावित्रा भण्डारी, नायब सुब्बा पवन भट्टराई र नायब सुब्बा कृष्णकुमार नेपाललाई फोकल पर्सनको जिम्मेवारी दिइएको छ ।

स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायबीच समन्वय गरी प्रभावितलाई सुरक्षित स्थानमा राख्ने तथा उनीहरूको सङ्ख्या, बसोबासको अवस्था र आवश्यकताका आधारमा राहत तथा आवश्यक सामग्री व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

Facebook Comments