२०८३ भाद्र १३, शनिवार

पाकिस्तानमा १४ जना शिशुको मृत्युको अनुसन्धान सुरु   

पाकिस्तानको इस्लामाबादस्थित एक अस्पतालमा आगलागीमा परी मृत्यु भएको शिशुको शव गाड्नका लागि एक जना पुरुषले बोकेर लगिरहेका छन्। बुधबार, अगस्ट २६, २०२६। (एपी फोटो/एहसान शहजाद)

       

इस्लामाबाद । पाकिस्तानको राजधानी इस्लामाबादस्थित अस्पतालको नवजात शिशु कक्षमा आगलागी हुँदा १४ जना शिशुको मृत्यु भएपछि घटनाको कारण र सुरक्षा व्यवस्थाबारे अनुसन्धान सुरु भएको छ । प्रधानमन्त्री शाहबाज सरिफले गठन गर्नुभएको समितिले बिहीबार घटनास्थलको निरीक्षण गरी छानबिन अघि बढाएको छ ।

बुधबार बिहान पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको तेस्रो तलामा रहेको नर्सरीमा आगलागी भएको थियो । आगो तीव्र रूपमा फैलिएपछि त्यहाँ रहेका १५ मध्ये एक शिशुलाई मात्र चिकित्सक, नर्स र अन्य कर्मचारीले उद्धार गर्न सकेका थिए । घटनापछि शोकाकुल परिवारले आगलागीको कारण तथा नर्सरीको अग्नि सुरक्षा व्यवस्थाबारे जवाफ मागेका छन् ।

सेवानिवृत्त सङ्घीय सचिव शाहिद खानको नेतृत्वमा गठित समितिले अस्पतालका कर्मचारी, प्रत्यक्षदर्शी र मृतक शिशुका परिवारसँग बयान लिनेछ । समितिले ४८ घण्टाभित्र प्रारम्भिक सिफारिस र पाँच दिनभित्र विस्तृत प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ ।

अस्पताल तथा जिल्ला अधिकारीहरूले सुरुमा वातानुकूलन प्रणालीमा भएको विस्फोटलाई आगलागीको कारण बताएका थिए । प्रारम्भिक अस्पताल प्रतिवेदनमा भने नेबुलाइजरमा भएको विस्फोटबाट आगलागी भएको र नर्सरीमा अक्सिजनको उच्च मात्रा रहेकाले आगो केही मिनेटमै फैलिएको उल्लेख छ । तर समितिले निष्कर्ष नदिएसम्म आगलागीको वास्तविक कारण यकिन नभएको सहर प्रशासनले जनाएको छ ।

अधिकारीहरूले सबै १४ शिशुको शव परिवारलाई बुझाएका छन् । घटनापछि अस्पतालको अग्नि सुरक्षा प्रणाली र आगो निभाउने उपकरणको समीक्षा गर्न निर्देशन दिइएको छ । पञ्जाब प्रान्तमा स्वास्थ्य संस्थाको अग्नि सुरक्षा र आपत्कालीन उद्धार संयन्त्र तत्काल समीक्षा गर्न स्वास्थ्य विभागलाई निर्देशन दिइएको छ ।

प्रधानमन्त्री सरिफले स्वास्थ्य सचिव असलम गौरीलाई पदबाट हटाउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले घटनाप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य संस्थामा आगलागी रोकथाम तथा सुरक्षा मापदण्ड सुदृढ गर्न आह्वान गरेको छ ।

गत जुनमा पूर्वी सहर लाहोरमा निर्माणाधीन शिक्षण केन्द्रको छत खस्दा १४ विद्यार्थीको मृत्यु भएको थियो । उक्त घटनापछि पाकिस्तानमा बालबालिकासम्बन्धी सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेको थियो । एपी

Facebook Comments