भारतीय राजदूतावासमा मनाइयो स्वतन्त्रता दिवस
काठमाण्डू । भारतको ८०औँ स्वतन्त्रता दिवस यहाँँस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
‘वन्दे मातरम’ गायनसँगै शुभारम्भ गरिएको उक्त समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो । समारोहमा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन प्रसारण गरिएको थियो ।
सो अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका दिवङ्गत ११ जना कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गर्नुभएको थियो । उहाँले कुल रु आठ करोड २० लाखको एजीआइएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) चेक हस्तान्तरण गर्नुभएको थियो । साथै स्वतन्त्रता दिवसको उपलक्ष्यमा दूतावासद्वारा आयोजित विविध प्रतियोगिताका विजेताहरूलाई सम्मान गरिएको थियो । दूतावासले नेपालका सातै प्रदेशका २२ शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गर्नुभएको थियो । यस पहलले शैक्षिक स्रोतहरूमा पहुँच बढाउने लक्ष्य राखेको छ ।
समारोहमा नेपालमा रहनुभएका भारतीय समुदायका सदस्यहरू, भारतका मित्रहरूका साथै दूतावासका अधिकारीहरू र उहाँहरूका परिवारजनको सहभागिता रहेको थियो । सो अवसरमा दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरूले जीवन्त सांस्कृतिक प्रस्तुति तथा देशभक्तिपूर्ण गीतहरू पनि प्रस्तुत गरेका थिए । रासस

