Thu. Jul 30th, 2026

राष्ट्रका नाममा प्रधानमन्त्री शाहको सम्बोधन, शान्ति र सद्भाव कायम राख्न आह्वान

       

भिओके समाचार/काठमाण्डू । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका क्षेत्रमा हालै भएका घटनापछि उत्पन्न परिस्थितिप्रति सरकार गम्भीर, संवेदनशील र जिम्मेवार रहेको बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै उहाँले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभयो । घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाको निष्पक्ष र पारदर्शी छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको छ । दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई घटनास्थलमा परिचालन गरिएको बताउनुभयो ।

प्रधानमन्त्री शाहले गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगेर अवस्था अनुगमन गरिरहेको र राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट समग्र सुरक्षा अवस्थाबारे आवश्यक निर्णयसमेत भइसकेको जानकारी दिनुभयो । केन्द्रमा सर्वदलीय बैठक आह्वान गरिएको तथा स्थानीय तहमा पनि निरन्तर संवाद भइरहेको उहाँको भनाइ थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गर्नुभयो । सरकारी निकायबाट सार्वजनिक गरिएका आधिकारिक सूचना र तथ्यमा मात्र विश्वास गर्न उहाँले अनुरोध गर्नुभयो ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा अवलम्बन गर्ने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले कुनै पनि धर्मले हिंसा, वैमनस्य वा विभाजनको शिक्षा नदिने बताउनुभयो । एक स्थानमा भएको घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई दोषारोपण गर्ने वा प्रतिशोधको भावना फैलाउने कार्य स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो ।

शान्ति सुरक्षा भंग गर्ने, अराजकता मच्चाउने र सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिप्रति सरकार कठोर रहने चेतावनी दिँदै प्रधानमन्त्री शाहले आम नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा सबै सरोकारवालालाई धैर्य, संयम र जिम्मेवारीका साथ राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार