Tue. Jul 28th, 2026

सदन सञ्चालन प्रभावकारी बनाउन दलहरूसँग सभामुखको छलफल

       
  • साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठक प्रभावकारी बनाउने तयारी ।
  • सरकारबाट पर्याप्त विधेयक र ‘बिजनेस’ उपलब्ध गराउने विषयमा छलफल ।
  • सदनको मर्यादा कायम गर्दै सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता 

काठमाण्डू/भिओके समाचार । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक र सचेतकसँग आगामी साउन १४ गतेदेखि सुरु हुने सदनको बैठक प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ ।

छलफलमा सरकारबाट पर्याप्त विधेयक र अन्य संसदीय कार्यसूची उपलब्ध गराउने, सदनलाई परिणाममुखी बनाउने तथा संसद्को गरिमा र मर्यादा कायम राख्ने विषयमा विचारविमर्श भएको थियो ।

छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले संसद्को मर्यादा र मूल्य-मान्यता कायम गर्दै जनताको अपेक्षाअनुसार सदन सञ्चालन गर्न सबै दल जिम्मेवार हुनुपर्ने बताउनुभयो । सरकारले पर्याप्त ‘बिजनेस’ दिने प्रतिबद्धता जनाएकाले दसैँअघिसम्म सदन सञ्चालन गर्ने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टीका सचेतक युवराज दुलालले सदनलाई प्रभावकारी बनाउन सरकारले समयमै विधेयक दर्ता गर्नुपर्नेमा जोड दिनुभयो । पटक-पटक प्रतिबद्धता जनाइए पनि विधेयक दर्ता हुन नसकेको भन्दै उहाँले सरकारलाई यसतर्फ गम्भीर हुन आग्रह गर्नुभयो ।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले दुई साताको विश्रामपछि बस्ने प्रतिनिधिसभा बैठकलाई उपलब्धिमूलक बनाउने विषयमा छलफल केन्द्रित रहेको बताउनुभयो । सत्तापक्ष र विपक्षबीच देखिएका असहमतिका विषय पनि केही दिनभित्र सहमतिमा टुङ्ग्याएर सदनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार