सभामुख अर्यालसँग संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक याहियाको शिष्टाचार भेट
काठमाण्डू । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक लिला पिटर्स याहियाले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा नेपाल–संयुक्त राष्ट्रसङ्घ सहकार्य, युवा सहभागिता, शिक्षा, लैङ्गिक समानता, कूटनीति तथा जलवायु परिवर्तनका समसामयिक विषयमा विस्तृत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटका क्रममा सभामुख अर्यालले आवासीय संयोजक याहियालाई स्वागत गर्दै नेपाल सरकार र सङ्घीय संसद् संयुक्त राष्ट्रसङ्घसँग समन्वयका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभयो । पछिल्लो आम निर्वाचनपश्चात् गठन भएको प्रतिनिधिसभामा युवाहरूको उल्लेखनीय सहभागिता भएको उल्लेख गर्दै यसलाई नेपालको लोकतान्त्रिक अभ्यासको ऐतिहासिक उहाँले उपलब्धि बताउनुभयो ।
“निर्वाचनपश्चात् हामी परिणाममुखी कार्यसम्पादनमा केन्द्रित छौँ”, सभामुख अर्यालले भन्नुभयो, “युवाहरूलाई सशक्तीकरण गर्दै अघिल्लो पुस्ताको अनुभवसँग समन्वय गरी अघि बढ्नु आजको आवश्यकता हो ।” उहाँले समावेशी लोकतन्त्र सुदृढीकरणका लागि महिला सहभागिता वृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै वर्तमान संवैधानिक व्यवस्थालाई थप सुदृढ बनाउँदै महिला–पुरुष ५०÷५० प्रतिनिधित्वतर्फ उन्मुख हुने लक्ष्य रहेको जानकारी दिनुभयो ।
सभामुख अर्यालले अबको राजनीतिक प्राथमिकता विकास, सुशासन र चेतनाको विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न पुस्ताबीचको अनुभव, ऊर्जा र क्षमताको समायोजनमार्फत शिक्षा, स्वास्थ्य लगायतका आधारभूत क्षेत्रमा सुधार ल्याउने उद्देश्यका साथ प्रभावकारी कानुन निर्माणमा संसद केन्द्रित हुने स्पष्ट पार्नुभयो ।
शान्ति स्थापना मिसनमा नेपालको योगदान उल्लेख गर्दै सभामुख अर्यालले नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना अभियानमा अग्रणी योगदानकर्ता राष्ट्रमध्ये एक भएको बताउनुभयो । अन्तरराष्ट्रिय सन्धि तथा महासन्धिहरूका सन्दर्भमा नेपालको राष्ट्रिय हितअनुरूप आवश्यक अध्ययन गरी उपयुक्त निर्णय लिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
जलवायु परिवर्तनका विषयमा सभामुख अर्यालले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने राष्ट्र भए तापनि यसको प्रत्यक्ष र गम्भीर असर भोगिरहेको उल्लेख गर्नुभयो । “हिमालहरू तीव्र रूपमा पग्लिरहेका छन्, जनजीवन प्रभावित भइरहेको छ र विपद्का घटनाहरू बढिरहेका छन्”, उहाँले भन्नुभयो, “नेपालले जलवायु न्यायका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा निरन्तर आवाज उठाइरहेको छौँ ।”
उक्त अवसरमा आवासीय संयोजक याहियाले संयुक्त राष्ट्रसङ्घका महासचिव तथा नेपालस्थित युएन टिमको तर्फबाट सभामुख अर्याललाई बधाई ज्ञापन गर्दै नेपालको लोकतान्त्रिक उपलब्धिको प्रशंसा गर्नुभयो । उहाँले सङ्क्रमणकालीन अवस्थाबाट सफलतापूर्वक बाहिरिँदै निर्वाचन सम्पन्न गरी युवामुखी संसद् गठन गर्नु नेपालका लागि मात्र नभई विश्वकै लागि उदाहरणीय भएको उल्लेख गर्नुभयो । रासस

