Mon. May 25th, 2026

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

       

दुर्गा देवकोटा/टीकापुर (कैलाली) । कैलालीका किसान बहुबाली खेतीतर्फ आकर्षित भएका छन् । केराखेती गर्ने किसानले केराखेतीसँगै मकै, खुर्सानी, तोरी खेतीलगायत गर्न थालेका छन् ।

टीकापुर नगरपालिका-४ बाघमाराका किसान टेकेन्द्र धामीले केरा खेतीभित्र मकैखेती गर्नुभएको छ । उहाँ यसवर्ष मकैको दुई बाली लिने तयारीमा हुनुहुन्छ । केराखेतीभित्र एकपटक उत्पादन भएको मकै बेचिसक्नुभएका धामीको बारीमा फेरि केरासँगै मकै फस्टाउँदै गएको छ ।

धामीले साढे ६ बिघा जमिनमा केराखेतीसँगै मकैखेती गर्नुभएको छ । एकपटक लाखौँ रुपैयाँ बराबरको मकै उत्पादन लिइसक्नुभएका उहाँको बारीमा फेरि मकैखेती फष्टाएको छ । “तयार भएको मकै चैतमा बजारमा हरियो नै बेचियो, पोलेर बिक्री गर्नेे भएकाले खपत राम्रै भयो”, उहाँ भन्नुहुन्छ, “अब अर्को मकै बालीबाट ४५ क्विन्टल जति उत्पादन हुने अनुमान गरेको छु । यो बाली साउनको पहिलो सातातिर तयार हुन्छ, यसले पनि राम्रै बजार पाउँछ ।”

लामो समयदेखि २१ विघामा केराखेती गरिरहनुभएका धामीले गतवर्ष पनि केराखेती भित्र खुर्सानी र तोरी खेती गर्नुभएको थियो । केराखेती गरिरहनुभएका उहाँले विगतमा गरिने केरा खेतीको समय परिवर्तन गर्नुभएको छ । विगतमा असारमा केरा रोप्ने गर्नुभएका धामीले दुई वर्षदेखि मङ्सिरमा आधा जमिनमा केरा रोप्नुभयो ।

“असारमा रोपेको केरा भदौमा तयार हुन्छ, सबैले असारमै रोप्ने गर्नाले चिसो मौसममा राम्रो केरा नपाइने समस्या हुन्छ । त्यसैले मैले केरा दुई समयमा रोप्न थालेको छु”, धामी भन्नुहुन्छ, “मङ्सिरमा रोपेको केरामा बहुबाली खेती गर्ने गरेको छु । यसरी खेती गर्दा वर्खामा हावाहुरीले गर्ने क्षतिबाट जोगिन्छ । विपद्बाट जोगिने र दुईभन्दा बढी बाली उत्पादन लिन सकिन्छ ।”

टीकापुर-५ पहाडीपुरका किसान शेरबहादुर साउदले गत वर्ष असारमा केरा रोप्नुभयो । केरा खेतीको बीचमा असोज महिनामा उहाँले मकै र तोरी खेती गर्नुभयो । “एक बिघा जमिनमा प्रयोग गरौँ भनेर खेती गरे, केराको दायाबाया कमै र बीचमा तोरी छरे”, उहाँ भन्नुहुन्छ, ‘‘दुई क्विन्टलभन्दा बढी तोरी उत्पादन भयो । रु ४० हजारको त हरियो मकै बिक्री गरे, ६० किलो जति दाना मकै पनि छ ।”

बेमौसमी मकै तयार भएकाले राम्रो फाइदा भएको साउदको भनाइ छ । उहाँको बारीमा अहिले केरा राम्रो फस्टाएको छ । “केरा खेतीबाट पनि करिब रु ५ लाखसम्म आम्दानी लिन सकिन्छ”, उहाँ भन्नुहुन्छ, “मैले पाँच बिघा जमिनमा केराखेती गरेको छु, केराभित्र अन्य बाली उत्पादन लिन सकिन्छ । मेहनत गरेमा पर्याप्त कमाइ गर्न सकिन्छ ।”

बहुबाली खेती भनेको एउटै जमिनमा एउटै समयमा दुई वा दुईभन्दा बढी बाली लगाउने प्रविधि हो । बहुबाली खेतीले किसानलाई दोहोरो आम्दानी दिलाउने भएकाले किसान त्यसतर्फ आकर्षित भएका हुन् । एउटै खेतमा मुख्य नगदे बालीसँगै अन्य तरकारी वा अन्नबाली लगाउँदा जमिनको अधिकतम उपयोग हुने, उत्पादनमा विविधता र आम्दानी बढाउने कृषि विज्ञहरू बताउँछन् ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका प्रमुख डा विष्णुविलास अधिकारी बहुबाली खेती किसानका लागि फाइदाजनक भएको बताउनुहुन्छ । “एउटा मुख्य बाली हुन्छ, बीचमा भुसुवा बाली लगाइन्छ । त्यसमा दुई वा दुईभन्दा बढी बाली लगाउन सकिन्छ”, उहाँ भन्नुहुन्छ, “मकै खेतीमा भटमास, कोदो रोप्न सकिन्छ । तोरी लगाएमा तोरीभित्र केराउ, मसुरो, आलस लगाउन सकिन्छ ।”

डा अधिकारीका अनुसार मुख्य बाली बाहेक बीचमा भएको खाली जमीनमा अर्को बाली लगाएमा उत्पादन बढी लिन सकिने र एउटा बालीमा रोग किराले नोक्सान भए पनि अर्को बालीबाट उत्पादन लिँदा किसानलाई घाटा हुँदैन ।

“एउटा बालीले अर्को बालीलाई फाइदा गर्छ । थरिथरिका बाली लगाउँदा फरक फरक किसिमका कीरा र रोग लाग्दैन । किसानले कोसे बालीमा प्राथमिकता दिनुपर्छ”, डा अधिकारी भन्नुहुन्छ, “कोशेबाली मिसाएर लगाएमा बायुमण्डलमा भएको नाइट्रोजन स्थिरीकरण गरेर लिन्छ, जसले माटो मलिलो हुन्छ । किसानले थरिथरिका बाली बालीचक्रमा मिलाएर लगाएमा फाइदा लिन सकिन्छ ।”

कैलालीमा सयौँ किसान केराखेतीमा लागेका छन् । यहाँ करिब एक हजार हेक्टर जमिनमा केराखेती गरिएको छ । केराको उत्पादन लिन एकवर्ष बढी समय लाग्ने भएकाले एक वर्षभित्र केराको बीचको जमिनमा अर्को उत्पादन लिन सकिन्छ । फलफूलमा अन्य बाली लगाएर उत्पादन लिनुपर्छ । बहुबालीले माटोको संरक्षण गर्ने, खाली जमीनमा पानी वाष्पिकरण भएर उडेर जाने भएकाले खेर जाने पानी पनि अन्य बाली लगाउँदा संरक्षण हुन्छ । मल, जल सबै संरक्षण हुन्छ । “यसका फाइदा नै फाइदा छन्”, डा अधिकारीले भन्नुभयो । रासस

Facebook Comments