Wed. Jun 10th, 2026

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

नेपाली कांग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरधामको तिरूहिया गाछीमा आज आयोजना गरेको चुनावी सभा तथा प्रतिज्ञापत्र सार्वजनिकीकरण कार्यक्रममा प्रतिज्ञा पत्र सार्वजनिक गर्नुहुँदै नेका सभापति गगनकुमार थापा। तस्बिरः अजयकुमार साह/रासस

       
काठमाण्डू । नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट आज प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । 
पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण सभा गरिएको हो । 
प्रतिज्ञापत्र सार्वजनिक भएका सन्दर्भमा कांग्रेसले पार्टी कार्यालय सानेपामा आजै पत्रकार सम्मेलन गरी उल्लेखित भिजन १० का बुँदाका बारेमा जानकारी गराएको छ । कांग्रेसले आमनिर्वाचनबाट बहुमत सहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ । 
कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र सङ्कल्पको आत्मबोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्नसक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले दाबी गर्नुभयो । 
पत्रकार सम्मलेलनमा उहाँले प्रतिज्ञापत्रका हरेक अक्षरका प्रष्ट अर्थ रहेको बताउनुभयो । प्रतिज्ञापत्रमा उल्लेखित योजना कार्यान्वयनका आधारमा कार्यसम्पादन मूल्याङ्कन हुनुपर्ने कांग्रेसको चाहना रहेको उहाँको भनाइ छ । सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्कने नेपालसम्मको योजना कांग्रेसले अघि सारेको छ ।
प्रतिज्ञापत्र केबल देखाउन मात्रै नभई कार्यान्वयन गरेर समुन्नत नेपाल सम्मानित नेपालीको नारालाई व्यवहारमा ल्याउने प्रतिबद्धता भएको कांग्रेसको दाबी छ ।
“नेपाली कांग्रेसले चाहेको यतिमात्र छ कि आगामी दिनमा आममतदाता र जनताले प्रतिज्ञापत्रको कार्यान्वयनका आधारमा पार्टी, तमाम नेता र कार्यकर्ताको कार्यसम्पादन मूल्याङ्कन गर्नुहुनेछ”, विज्ञप्तिमा भनिएको छ, “कांग्रेस आफ्नो प्रतिज्ञा पूरा गर्न, अमूक र अर्मूत कारण देखाएर जिम्मेवारीबाट भाग्ने छैन, जिम्मेवारीबाट पन्छदैनौँ ।”
कांग्रेसको प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ को सार–सङ्क्षेपमा प्रस्तुत गरिएको छ । कांग्रेसले प्रतिज्ञापत्रलाई ‘कांग्रेस टु प्वाइन्ट जिरो’को जगका रूपमा व्याख्या गरेको छ । पुनःरुत्थानमा सफल सुरुआत गरेको कांग्रेसले नै जनताबाट इच्छित भविष्य साकार पार्न सङ्कल्प लिएको छ । 
यस्ता छन् १० भिजन 
१ सम्मानित भएर बाँच्न पाउने नेपाल
२ सपना देख्नसक्ने नेपाल
३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४ पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५ ओखती र ओत दिने नेपाल
६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८ मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल
९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१० समुन्नतिमा लम्किने नेपाल 
  रासस
Facebook Comments