Sat. Jul 27th, 2024

राष्ट्रसंघको प्रस्ताव अनुरुप जम्मु काश्मिरमा जनमत संग्रह गराउन माग

काठमाडौं, २०७७ पुस २२ गते बुधबार

औपनिवेशिकताको विरोध गर्दै आइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले काश्मिरमा जनमत संग्रह माग गरेको छ ।

मोर्चाले १९४९ जनवरी ५ का दिन संयुक्त राष्ट्रसंघीय आयोग (युएनसीआईपी) ले जम्मु-काश्मीरमा स्वतन्त्र र भयमुक्त जनमत संग्रह गर्न पारित गरेको प्रस्ताव कार्यान्वयन गर्न मोर्चाले माग गरेको छ ।

मंगलबार मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ-‘आज ५जनवरीका दिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा इण्डियाकोे कब्जामा परेका काश्मीरका जनताले त्यसको विरोधमा गरिरहेको संघर्षमा मानवअधिकारको चरम हननबाट पीडित ती काश्मिरी जनताको आत्मनिर्णयको अधिकारका निम्ति १९४९ जनवरी ५ का दिन संयुक्त राष्ट्रसंघीय आयोग (युएनसीआईपी) ले जम्मु-काश्मीरमा स्वतन्त्र र भयमुक्त जनमत संग्रह गर्न पारित गरेको प्रस्ताव कार्यान्वयन हुनुका सट्टा उल्टै संविधानको धारा ३७० र ३५ (ए) हटाएर काश्मिरी जनताको विशेषाधिकार हनन गरेर प्रजातन्त्रकै खिल्ली उडाएकोमा यसरी त्यहाँका जनताले भोगेको भयावह पीडाका विषयमा गम्भीर चासो व्यक्त गर्दै संयुक्त राष्ट्रसँघलाई आफूले पारित गरेको तल्कालीन प्रस्तावलाई इण्डियाले गरिरहेको अवमूल्यनतिर दृष्टि दिई त्यसको अविलम्ब कार्यान्वयन गर्न जोडदार माग गर्दछ ।’

मोर्चाले भारतले सन् १९४७ अगष्ट १५ देखि आजसम्म नेपालको ६० हजारदेखि करिव १ लाख वर्ग कि.मि. नेपाली भूमिमा उपनिवेश कायम गर्दै आइरहेकोमा त्यसको निरन्तर विरोध र भूमि फिर्ता गर्ने माग गरिरहेको छ ।

यसै सन्दर्भमा मोर्चाले सन् २०१८ को मार्चमा जेनेभास्थित संयुक्त राष्ट्र संघ, मानवअधिकार परिषद्मा इण्डियाली उपनिवेश कायम रहेको नेपाली भूभागका जनताले निर्बाध रुपमा मानवअधिकारको उपभोग गर्न नपाएको र उपनिवेश कायम रहनु पनि मानवअधिकारको हनन् हो भन्नुका साथै त्यहाँ उपस्थित अन्तर्राष्ट्रिय समुदायलाई नेपाली भूमिमा कायम इण्डियाली उपनिवेश अन्त्य गर्न इण्डियालाई दबाब दिन आग्रह र आह्वान गरेको थियो ।

त्यही वेला जेनेभामा संयुक्तराष्ट्र संघीय भवनमा भएको एक छलफलमा मोरक्कोले पश्चिम सहारालाई उपनिवश बनाउँदै आएकोमा सन् १९७५ अक्टोबर १६ का दिन अन्तर्राष्ट्रिय अदालतले दिएको पश्चिम सहारा अरु कुनै पनि देशको अधिकार क्षेत्र नरहेको भन्ने अभिव्यक्तिको उपेक्षा गर्दै मोरक्कोले कायम गरेको औपनिवेशिकता विरुद्ध पश्चिम सहाराले उठाइरहेको उपनिवेशवाट मुक्तिको आवाजमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पनि आवाज मिलाउने ऐक्यबद्धता जनाएको थियो ।

 

Facebook Comments