प्रचण्ड-माधवलाई चुनावी मैदानबाट नभाग्न गृहमन्त्री थापाको आग्रह
![](http://voiceofkathmandu.com/wp-content/uploads/2021/01/badal-pic-1.jpg)
काठमाडौं, २०७७ पुस २० गते सोमबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले पार्टी फुटाउने षडयन्त्रका साथ प्रचण्डले १९ बुँदे आरोप पत्र प्रस्तुत गरेको बताउनु भएको छ ।
अध्यक्ष र प्रधानमन्त्री नपाएर प्रचण्ड-माधवजीले पार्टी छाडेर गएको बताउनुहुँदै गृहमन्त्री थापाले उहाँहरूले पार्टीको भेला नभई गुटको भेला गर्दै हिँडेको बताउनुभयो ।
रेडियो नेपालका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले भरतपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रधानमन्त्री हुन चुनावमा जान र पार्टी अध्यक्ष हुन महाधिवेशनमा जान चुनौती दिनुभयो । यो संसद्ले प्रधानमन्त्री नबनाउने हुनाले चुनावी मैदानबाट नभाग्न प्रचण्ड-माधवलाई उहाँले आग्रह गर्नुभयो ।
प्रजातान्त्रिक पद्धतिमा कसैको लहड र उत्तेजनाले पार्टी अध्यक्ष र प्रधानमन्त्री हटाउन नसक्ने भन्दै उहाँले महाधिवेशनबाट निर्वाचित अध्यक्ष र जनताबाट विजयी भई संसद्बाट चुनिनु भएका केपी ओलीलाई माधव–प्रचण्डले हटाएको नभै आफै पार्टी छाडेर गएको बताउनुभयो ।