Tue. Jul 7th, 2026

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरु   

       

वालिङ (स्याङ्जा) । यहाँको गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरु गरिएको छ ।

नागरिकलाई शारीरिक, मानसिक र आध्यात्मिकरुपमा स्वस्थ एवम् सबल बनाउन नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएसँगै सेवा पनि सुरु गरिएको हो । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आत्मसात गर्दै आयुर्वेद चिकित्सालाई स्थानीयस्तरसम्म पु-याउने लक्ष्यकासाथ सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको नागरिक आरोग्य सेवा केन्द्र गल्याङका बैद्य वीरबहादुर बोहोराले बताउनुभयो ।

“विश्वव्यापीरुपमा फैलिँदै गएको नसर्ने रोगको प्रकोपलाई न्यूनीकरण गर्न योग, ध्यान, तथा आधारभूत तहको आयुर्वेद स्वास्थ्य सेवा प्रदान गर्छौँ”, उहाँले भन्नुभयो, “नागरिकलाई आयुर्वेद चिकित्सा विधिकाबारेमा चेतना जगाउँदै विद्यालय, आमा समूह, महिला स्वयंसेविका, युवा क्लबमार्फत समुदायस्तरमा पुगेर योग, ध्यान सिकाउँदै सकारात्मक सोचको विकासका लागि सहयोग गर्छौंँ ।”

आरोग्य केन्द्रबाट आयुर्वेद चिकित्सासम्बन्धी आधारभूत मापदण्ड अनुसारको आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराइने उहाँले बताउनुभयो । पूर्वकर्म, पञ्चकर्म, बाष्पविधि, रुघा खोकीसहित स्वस्थ जीवनशैलीसम्बन्धी परामर्श आरोग्य केन्द्रमार्फत दिइने जनाइएको छ ।

नगर अस्पतालमै नागरिक आरोग्य सेवा केन्द्र स्थापना भई सेवा सुरु भएसँगै यहाँका नागरिकलाई आयुर्वेद चिकित्सासम्बन्धी सेवा तथा परामर्शका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार