Sat. Jul 27th, 2024

काँग्रेस सभापति देउवालाई चीन भ्रमणको निम्तो

काठमाडौं, २०७७ पुस १४ गते मंगलबार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन भ्रमणको निमन्त्रणा दिएको छ ।

पूर्वप्रधानमन्त्री देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा उपमन्त्री क्वोले आफूहरूले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको जनाउँदै सो कार्यक्रमका लागि निमन्त्रणा दिनुभयो ।

उपमन्त्री क्वोले काँग्रेससँग आफूहरुको राम्रो सम्बन्ध रहिआएको उल्लेख गर्दै सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताउनुभयो । उहाँले काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले चीनसँगको सम्बन्ध सुधारमा गर्नुभएको योगदानको प्रशंसासमेत गर्नुभयो । उहाँहरुबीच नेपाल र चीनका द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको भेटमा सहभागी सभापति देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिनुभयो । गोरखापत्र

Facebook Comments