Fri. Mar 14th, 2025 11:03:51

एमसिसीसँग सम्बन्धित विषय देशको पक्षमा: मन्त्री रायमाझी

काठमाडौं, २०७७ पुस १३ गते सोमबार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।

आइतबार पद बहाली गर्दै मन्त्री रायमाझीले सो विचार व्यक्त गर्नुभएको हो ।  रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्नेछ ।”

गोरखापत्रका अनुसार मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाउनुभयो ।  सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । मन्त्रालयका सचिव मधुसूदन अधिकारीले मन्त्रालयको काम कारवाहीबारे मन्त्रीलाई जानकारी गराउनुभयो ।

Facebook Comments