Sun. Jun 14th, 2026

मध्यावधिमा रिपब्लिकनले हार्न सक्ने ट्रम्पको सङ्केत   

       

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ बताउनुभएको छ । तर, उहाँले सन् २०२६ को मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले हार भोग्न सक्ने सम्भावनाको सङ्केत गर्नुभएको छ ।

जनवरीमा ह्वाइट हाउसमा पुनः फर्किनुभएका ट्रम्प नेतृत्वको रिपब्लिकन प्रशासनले अमेरिकी अर्थतन्त्र हाल फस्टाउँदै गएको दाबी गर्दै आएको छ । यस क्रममा उहाँले मुद्रास्फीति बढ्नुका लागि आफ्ना डेमोक्रेटिक पूर्ववर्ती राष्ट्रपति जो बाइडेनलाई दोष दिँदै आउनुभएको छ । जर्नलसँग ओभल अफिसमा भएको अन्तर्वार्तामा ट्रम्पले भन्नुभयो, “मैले इतिहासकै सबैभन्दा ठूलो अर्थतन्त्र निर्माण गरेको छु, तर मानिसहरूलाई त्यसको अनुभूति हुन केही समय लाग्न सक्छ ।”

उहाँले देशभित्र ठूलो मात्रामा लगानी भइरहेको उल्लेख गर्दै कारखाना, कार उत्पादन केन्द्र, कृत्रिम बौद्धिकता (एआई) लगायतका परियोजनाहरू अघि बढिरहेको बताउनुभयो । “यी सबै मतदाताले कसरी मूल्याङ्कन गर्नेछन्, म ठ्याक्कै भन्न सक्दिनँ । म मेरो काम मात्र गर्न सक्छु”, उहाँले भन्नुभयो ।

सन् २०२६ को मध्यावधि चुनाव नजिकिँदै गर्दा ट्रम्पले मूल्यहरू नियन्त्रणमा रहेको दाबी गर्नुभयो । ‘सफल राष्ट्रपति भएका व्यक्तिहरूले पनि कहिलेकाहीँ हार भोगेका छन्’ भन्दै उहाँले परिणाम हेर्न बाँकी रहेको बताउनुभयो । “हामीले जित्नै पर्छ, तर तथ्याङ्कीय रूपमा हेर्दा यो सजिलो छैन”, उहाँको भनाइ थियो ।

पुनः निर्वाचित भएमा मुद्रास्फीति घटाउने आफ्नो प्रतिबद्धता पूरा गरेको दाबी गर्दै ट्रम्पले केही जनमत सर्वेक्षणमा देखिएको कम अनुमोदन दरलाई अस्वीकार गर्नुभयो । युनिभर्सिटी अफ शिकागोले एसोसिएटेड प्रेसका लागि गरेको सर्वेक्षणअनुसार ट्रम्पको आर्थिक व्यवस्थापनलाई अनुमोदन गर्ने अमेरिकी वयस्कहरूको प्रतिशत ३१ मात्र रहेको छ । यो मार्चमा ४० प्रतिशत थियो ।

यसैबीच, ट्रम्पले सामाजिक सञ्जालमार्फत ‘मुद्रास्फीति बिना देशको इतिहासकै सबैभन्दा ठूलो अर्थतन्त्र बनाउँदा कहिले श्रेय पाइन्छ ?’ भनी प्रश्न गर्नुभएको छ । बाइडेनको कार्यकालमा बढेको मुद्रास्फीति ट्रम्प सत्तामा फर्किएपछि केही समय सुस्त भए पनि अप्रिलदेखि फेरि तीव्र भएको छ । सेप्टेम्बरमा वार्षिक मुद्रास्फीति २.८ प्रतिशत रहेको देखिएको छ भने सरकारी बन्दका कारण अक्टोबरको तथ्याङ्क सार्वजनिक हुन सकेको छैन । नोभेम्बरको आँकडा अर्को साता आउने अपेक्षा गरिएको छ ।  एएफपी

Facebook Comments

सम्बन्धित समाचार