Sat. Jul 27th, 2024

चुनावमा जाने कि सडक संघर्ष गर्ने भन्नेमा प्रमुख प्रतिपक्षीदल कंग्रेस भित्र मतभेद, पुस १६ गते देशभर प्रदर्शन गर्ने घोषणा

काठमाडौं, २०७७ पुस ९ गते बिहीबार

प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसभित्र चुनावमा जाने कि सडक संघर्ष गर्ने भन्नेमा व्यापक मतभेद देखिएको छ ।

बुधबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले संसद विघटन असंवैधानिक भएकाले सडकमा उत्रिनुपर्ने बताएका छन् । तर सभापति शेरबहादुर देउवा पक्षधर नेताहरु भने सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय पर्खिने मुडमा देखिएका छन् । त्यसैले सभापती देउवा मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकसमेत लम्ब्याउने प्रयत्नमा हुनुहुन्छ ।

मंगलबारको बैठकमा केन्द्रीय समितिका चार नेता बोलेका थिए । बुधबार पनि केन्द्रीय कार्यसमिति बैठक केहीबेर बस्यो र चार जना बोलेर सकियो ।

बैठकको सुरुमा बोलेका डा रामशरण महतले संसद विघटन असंवैधानिक भनेर जानुपर्ने बताउनु भयो। पूर्वअर्थमन्त्री समेत रहनु भएका उहाँले अहिले निर्वाचन आर्थिक दृष्टिकोणमा पनि उपयुक्त नहुने धारणा राख्नु भयो ।

नेता गगन थापाले पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले अलमल गर्न नहुने बताउनु भयो । होइन भने पदाधिकारी बैठकको निर्णय सच्याउनुपर्ने उहाँको तर्क थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको चुनाव नहुने बरु देश अँध्यारो सुरुङमा जाने भन्दै थापाले बैठकमा भन्नुभयो, ‘हामीले अदालतलाई पर्खिने होइन, संसद विघटन असंवैधानिक छ, यसलाई सच्याओस् भन्ने हो ।’ संसद विघटन असंवैधानिक छ भनेर सडकमा जानुपर्ने र संवैधानिक परिषद्ले गरेका निर्णयहरू अस्वीकार्य छ भनेर केन्द्रीय कार्यसमितिबाट भन्नुपर्ने उहाँले बताउनुभयो ।

बुधबारको बैठकले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापी रुपमा मनाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यसमितिको बैठक बिहीबार १ बजे बस्ने भएको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि पार्टीको आगामी रणनीति बनाउन कांग्रेस आन्तरिक छलफलमा जुटेको छ। प्रतिनिधिसभा विघटनलाई सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदम भएको निष्कर्ष निकालेको कांग्रेसभित्र सडक संघर्षमा जाने कि निर्वाचनमा जुट्ने भन्नेमा एकमत छैन।

Facebook Comments