शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाण्डू । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज २७.६४ अंकको गिरावट आई २५९५.२४ विन्दुमा झरेको छ । आज नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपियाँको शेयर कारोबार भएकोमा आज ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपियाँको शेयर किनबेच भएको छ ।
आज माबिलुङ इनर्जी र फस्ट माइक्रोफाइनान्सको शेयर करिब १० प्रतिशतले वृद्धि भएको छ । यसैगरी आज विन्द्यवासिनी हाइड्रोपावरको शेयर ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सम्पदा लघुवित्त र अभियान लघुवित्तको शेयर ५ प्रतिशतभन्दा बढीले बढेको छ । आज मुक्तिनाथ कृषि कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने एक्सेल डेभलपमेन्ट बैंकको शेयर ७ प्रतिशतभन्न्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड बराबरको शेयर कारोबार भएको छ । यसैगरी, राधी विद्युत् कम्पनीको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ भने युनियन हाइड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । नेप्सेमा सूचीकृत सबै १३ वटै उपसमूहको शेयरमा आज गिरावट आएको छ ।

