तान्जानियाः नवनिर्वाचित राष्ट्रपति हसनद्वारा सपथ ग्रहण
नैरोबी । तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले नयाँ कार्यकालका लागि सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ।
विपक्षी दलका नेताहरूले निर्वाचनमा व्यापक धाँधली भएको भन्दै निर्वाचन पुनः गर्नुपर्ने भन्दै सडकमा सशक्त आन्दोलन गरिरहेका समय उहाँले सपथ ग्रहण गर्नुभएको हो।
सपथपछि टेलिभिजनमार्फत् सार्वजनिक एक सम्बोधनमा सामियाले देशबासीसँग ‘एकता र राजनीतिक ऐक्यवद्धता’ का लागि आग्रह गर्नुभएको छ।
उहाँले देशका विभिन्न सहरमा भएका प्रदर्शनमा सहभागी केही युवा प्रदर्शनकारी विदेशी रहेको बताउनुभएको छ।
हाम्रा रक्षा तथा सुरक्षा निकायले चुनावपछि भएका प्रदर्शन र हिंसामा संलग्न सवैलाई कानुनी दायरामा ल्याउने बताउनुभयो ।
तान्जानियाको निर्वाचन आयोगका अनुसार सामियाले ९७.६६ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयुक्तका अनुसार बुधबार भएको मतदानमा देशका तीन करोड ७६ लाख पञ्जीकृत मतदातामध्ये ८७ प्रतिशत अर्थात् तीन करोड २० लाख मतदाताले मतदान गरेका थिए जसमध्ये ९७.६६ प्रतिशत अर्थात् करिब तीन करोड १९ लाख मत सामियालाई प्राप्त भएको थियो ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पारदर्शिता र देशमा फैलिएको हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् ।
केही स्थानमा निर्वाचन प्रक्रियामा अनियमितता भएको रिपोर्टपछि चर्किएको निर्वाचनपछिको हिंसात्मक गतिविधि र इन्टरनेट बन्दप्रति इयूले आइतबार उक विज्ञप्ति जारी गरी चिन्ता व्यक्त गरेको थियो।
निर्वाचनपछि शनिबारसम्म भएका हिंसामा ८०० भन्दा बढीको मृत्यु भएको प्रमुख विपक्षी दल काडेमाका नेताहरूले बताएका छन् । एएफपी

