Sun. Jun 14th, 2026

अमेरिकी गुप्तचर प्रमुखको आरोप, ‘चीन प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा’

       

काठमाडौं, २०७७ मंसिर १९ गते शुक्रबार

अमेरिकाका वरिष्ठतम गुप्तचर अधिकारीले द्वितीय विश्वयुद्धयता चीन “प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा” भएको बताएका छन्।

द वाल स्ट्रीट जर्नलमा लेख्दै जोन र्‍याटक्लिफले अमेरिकाका गोप्य सूचना चोर्दै तथा बजारमा अमेरिकी कम्पनीहरूलाई विस्थापित गर्दै चीनले आफ्नो सामर्थ्य बढाइरहेको आरोप लगाएका छन्।

चिनियाँ सामानमाथि शुल्क थप्दै ट्रम्प प्रशासनले चीनप्रति कडा नीति अवलम्बन गरेको छ तथा बौद्धिक सम्पत्ति चोरी गरेको बेइजिङमाथि आरोप लगाउने गरेको छ।

चीनले पछिल्लो आरोपबारे कुनै प्रतिक्रिया दिइसकेको छैन।

यद्यपि आफ्ना सामानमाथि शुल्क लगाउने र अमेरिकी बजारबाट आफ्नो दूरसञ्चार कम्पनी ह्वावेईलाई टाढा राख्ने अमेरिकी प्रयासप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ।

बेइजिङले अमेरिकासँग मुठभेडको तयारी गरिरहेको र “आर्थिक, सैनिक तथा प्राविधिक रूपले” विश्वमाथि हावी हुन खोजिरहेको र्‍याटक्लिफले बताएका छन्।

विविसीका अनुसार चीनले अमेरिकाका साझेदारहरूमाथि दबाव बढाउँदै लगेको बेला र्‍याटक्लिफका यी टिप्पणीहरू आएका छन्।

क्यान्बराले सुधार गर्नुपर्ने व्यवहारका सूची प्रकाशित गर्दै, अस्ट्रेलियाली मदिरा आयातमा शुल्क थप्दै र अफगानिस्तानमा मानवाधिकार उल्लङ्घनमा अस्ट्रेलियाली सैनिकको संलग्नताको विषय उठाउँदै बेइजिङले उसमाथि दबाव बढाएको हो।

र्‍याटक्लिफले के भने?

राष्ट्रिय गुप्तचर निकायका निर्देशकले चीन एक प्रकारको आर्थिक जासुसीमा संलग्न भएको भन्दै त्यसलाई “चोर्ने, नक्कल गर्ने र विस्थापित गर्ने” कामको सङ्ज्ञा दिए।

अमेरिकी प्रतिस्पर्धी कम्पनीबाट सूचना चोरेर एउटा चिनियाँ विन्ड टर्बाइन कम्पनी विश्व बजारमा गएकोमा दोषी पाइएको कुरालाई उनले उदाहरणको रूपमा प्रस्तुत गरे।

Facebook Comments

सम्बन्धित समाचार