Wed. Dec 25th, 2024

भारतीय विदेशसचिवको पहिलो नेपाल भ्रमणको मिति सार्वजनिक

काठमाडौं, २०७७ मंसिर ८ गते सोमबार

परराष्ट्र मन्त्रालयले एक वरिष्ठ भारतीय कूटनीतिक अधिकारीले आगामी बिहीवार र शुक्रवार काठमाण्डूको भ्रमण गर्ने बताएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको मिति सार्वजनिक गरेको हो।

भारतको विदेश मन्त्रालयले उक्त भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको अभ्यासको निरन्तरता भएको र यसले नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकता झल्काउने उल्लेख गरेको छ।

विविसी नेपाली सेवाका अनुसार भ्रमणको पहिलो दिन बिहीवार भारतीय विदेशसचिवले आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

त्यही दिन उनले अन्य उच्च पदस्थ भेटवार्ताहरू गर्नेछन् र नेपाल सरकारलाई कोभिड-१९ सँग सम्बन्धित सहायता हस्तान्तरण गर्नेछन्।

केही साताअघि भारतका गुप्तचर निकायका प्रमुख र स्थल सेनाध्यक्षले काठमाण्डूको भ्रमण गरेपछि अघिल्लो वर्षदेखि सीमा विवादका कारण लगभग ठप्प रहेको नेपाल भारत संवाद पुन: सुरु भएको थियो।

भारतीय विदेशसचिव श्रृंगलाको भ्रमणलाई नेपाल-भारत सम्बन्ध सुधारको महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

उनी स्वदेश फर्किएलगत्तै बेइजिङबाट चिनियाँ रक्षामन्त्री नेपाल आउने तयारी भइरहेको र त्यसका लागि सुरक्षा तयारी अघि बढाउन प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका विवरण प्रकाशित भएको छ।

रक्षा मन्त्रालयका अधिकारीले त्यस्तो उच्चस्तरीय भ्रमणको तयारी चलिरहेको जानकारी दिएपनि भ्रमणका अजेन्डा भने खुलाएनन्।

Facebook Comments