Mon. Apr 20th, 2026

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त   

       

काठमाण्डू, २०८२ असार ३२ गते बुधबार । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो । यसअघि मन्त्री राजकुमार गुप्ताले आज राजिनामा दिएपछि रिक्त पदमा उहाँलाई नियुक्त गरिएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सांसद न्यौपानेलाई राष्ट्रपति पौडेलले मन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मौजुदा मन्त्रिपरिषद्‌मा मन्त्री पदमा नियुक्त

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा संवत् २०८१ साल असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‌का सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय श्री राजकुमार गुप्‍ताले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय श्री भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ।

२०८२ साल असार ३१ गते मङ्‌गलबार।

ने.सं. ११४५ दिल्लागा पञ्‍चमी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता

Facebook Comments