Tue. Apr 21st, 2026

कञ्चनपुरमा छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन हुने   

- छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पले डसेर मृत्यु

       

कञ्चनपुर, २०८२ असार ३१ गते मंगलबार । कञ्चनपुरका नौवटै स्थानीय तहमा छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई छाउगोठ भत्काउनका लागि पत्राचार गरेको हो ।

यही छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पले डसेर मृत्यु भएको थियो । तस्विर:अविनाश चौधरी

“छाउगोठ भत्काई परम्परागत रुपमा चलिरहेको कु-प्रथा उन्मूलन गर्न पालिकाबाट आवश्यक निर्णय गरी कार्यान्वयन गर्न अभियान सञ्चालन गरिएको छ”, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । पत्रमा सामाजिक कु-प्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ ।

तीन दिनअघि कृष्णपुर नगरपालिका-१, निगाली टोलमा महिनावारीका समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पदंशबाट निधन भएपछि जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।

छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पले डसेर मृत्यु

छाउगोठमा सुतेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ की २८ वर्षीया कमला आउजी दमाईको विषालु सर्पले टोकेर ज्यान गएको छ ।

शुक्रबार (असार २७, २०८२) राति सर्पले डसेको उहाँको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा शनिबार बेलुका ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । मृतकको शव अस्पतालको शव चिस्यानमा राखिएको छ ।

छाउपडी प्रथाविरुद्ध अभियान चलाएको पालिकामा देउता रिसाउने भन्दै महिनावारीको बेला छाउगोठमै सुत्ने गरेका कारण दुःखद घटना घटेको वडा अध्यक्ष मोहनबहादुर बस्नेतले बताउनुभयो । “मृतकको घर पक्की छ । तर महिनावारी भएको बेला छाउघरमा बसेको बेला शुक्रबार राति ९ बजे सर्पले डसेको थियो”, उहाँले भन्नुभयो, “तत्कालै सेती प्रादेशिक अस्पताल लगे पनि ज्यान जोगिएन ।”

वडा अध्यक्ष बस्नेतका अनुसार मृतकका १५, ९ र ६ वर्षका तीन छोरा छन् । श्रीमान् भने रोजगारीको सिलसिलामा भारतको दिल्लीमा बस्ने गर्नु भएको छ । घटनापछि मृतकको श्रीमान् आइरहेको वडा अध्यक्षले जानकारी दिनुभयो । उहाँले कृष्णपुरमा एकचोटी छाउगोठ भत्काइसकिए पनि देउता रिसाउने भन्दै फेरि मान्छेले गोठ बनाएर महिनावारीको बेला त्यसैमा बस्न थालेका छन् भनि गोरखापत्रका लागि धनगढीबाट अविनाश चौधरीले समाचार लेख्नु भएको छ ।

Facebook Comments