Tue. Apr 21st, 2026

हिमताल फुटेर भोटेकोशीमा बाढी आएको हुनसक्ने इसिमोडको आशङ्का   

       

काठमाण्डू, २०८२ असार २४ गते मंगलबार । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले वर्षाका कारण नभई कुनै हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा बाढी आएको हुनसक्ने आशङ्का गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै इसिमोडले हिमताल फुटेको हुनसक्ने बताएको हो ।

आज दिउँसो जल तथा मौसम विज्ञान विभागले पनि नेपाल र चीन आसपासका क्षेत्रमा ठूलो वर्षा नभएकाले हिमताल फुटेर बाढी आएको हुनसक्ने अनुमान रहेको बताएको थियो ।

“रासुवामा सोमबार आएको बाढीको खास कारण पहिचान गर्न अझै समय लाग्नेछ, तर प्रारम्भिक अनुसन्धानबाट उक्त बाढी अत्यधिक वर्षाका कारण आएको थिएन । मौसमी बादलको आवरण हटेपछि मात्रै उपग्रह चित्रमार्फत थप अध्ययन गरेर विस्तृत अनुसन्धान गर्न सकिनेछ”, जारी विज्ञप्तिमा भनिएको छ, “भूगर्भविद्, हिमनदी विशेषज्ञ, जलवायुविज्ञलगायत सहभागी बहुक्षेत्रीय टोलीले बाढीको वास्तविक कारणको अनुसन्धान गर्नुपर्ने आवश्यकता छ ।”

इसिमोडका वरिष्ठ जलविज्ञान अनुसन्धानकर्ता प्रदीपमान डङ्गोलले हिमताल विस्फोट भएको शङ्का गरिएको बताउनुभयो । हालसम्म यसको ठोस प्रमाण भने नरहेको उहाँको भनाइ छ । “इसिमोडको सन् २०२१ को अध्ययनअनुसार तिब्बतस्थित त्रिशूली नदीको माथिल्लो क्षेत्रको एक हिमताल उच्च जोखिमयुक्त श्रेणीमा रहेको थियो । सन् १९९० देखि २०२० सम्म त्रिशूली नदीको जलाधार क्षेत्रमा हिमतालको आकार ३३ प्रतिशत र सङ्ख्या १६ प्रतिशतले बढेको छ । बाढीअघि लिइएका उपग्रह चित्रहरूमा पनि हिमतालहरूको सङ्ख्या बढेको देखिन्छ, तर हाल बादलको कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको छ ।”

चीनको माथिल्लो क्षेत्रमा हालसालै भारी वर्षा भएको सङ्केत नभएको भन्दै यसले अत्यधिक वर्षा बाढीको प्रमुख कारण नभएको पनि डङ्गोलले बताउनुभयो । “पहाडी क्षेत्रमा जोखिम कसरी उत्पन्न हुन्छ भन्ने बुझ्न झनझन कठिन हुँदै गइरहेको छ । भारी वर्षाले सधैँ बाढी ल्याउँछ भन्ने हुँदैन र कहिलेकाहीँ त्यो एक्लो कारण पनि हुँदैन । यसलाई ध्यानमा राखेर राहत, पुनर्निर्माण तथा पूर्वतयारी योजना बनाइनुपर्छ ।”

इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले विश्वव्यापी रूपमा बढिरहेको तापमान वृद्धिका कारण प्राकृतिक विपद्को जोखिममा सबैभन्दा बढी पर्वतीय क्षेत्र रहेको बताउनुभयो । “आज बिहानको रसुवा बाढीको कारण के हो भन्ने अझै यकिन छैन, तर हामीलाई पूर्ण विश्वास छ कि विश्वव्यापी तापमान वृद्धिले हिमाली क्षेत्रमा जोखिमपूर्ण घटनाहरूको आवृत्ति, तीव्रता र जटिलता बढाएको छ”, उहाँले भन्नुभयो ।

इसिमोडका जलवायु तथा वातावरणीय जोखिम विभाग प्रमुख छ्याङ्गोङ झाङले हिमाली क्षेत्रमा प्राकृतिक प्रकोपको स्वरूप जटिल बनिरहेको र भारी वर्षा मात्रै सधैँ बाढीको कारण नबन्ने बताउनुभयो । “पर्वतीय क्षेत्रका यस्ता बहुआयामिक विपद्का परिदृश्यलाई ध्यानमा राखी उद्धार, राहत तथा पुनर्निर्माण योजना बनाइनु आवश्यक छ”, उहाँले भन्नुभयो । रासस

Facebook Comments