Tue. Jun 25th, 2024

नेवाः समुदायमा ‘म्ह पूजा’ गएराती सम्पन्न

फोटो: सुजन गुरुङ्ग गोरखापत्र

काठमाडौं, २०७७ मंसिर २ गते मंगलबार

 नेवार समुदायले मनाउँदै आएको ‘म्ह पूजा’ अर्थात् आत्म पूजा गए राती सम्पन्न भएको छ । यो चाड स्वन्ति (तिहार) को चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइन्छ । यस दिन म्ह पूजाका साथै नयाँ वर्षको पनि सुरुवात हुन्छ । गोरखापत्र अनलाईनका अनुसार यो दिन आफ्नै शरीरलाई पूजा गरिन्छ । शरीर भन्नासाथ यसमा पञ्चतìवको संयोजन हुन्छ । पृथ्वी, जल, तेज, वायु र आकाश पञ्चतìव नै हाम्रो शरीरको अस्तित्व हो ।

यसरी यसरी पञ्चतìवको संयोजन भएको हाम्रो शरीरलाई बर्सेनि आइपर्ने विभिन्न बाधाहरू, आपतविपत, दुःख, सुख एवं विभिन्न रोग र घटनाबाट मुक्त भएर सफलतापूर्वक जीवन चलाउन अवसर मिलोस् भनेर आत्म पूजा अर्थात देह पूजा गरिँदै आएको छ ।

‘म्ह पूजा’को संक्षिप्त परिचय

‘म्ह पूजा’ चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पुजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पुजा गरिन्छ । ‘म्ह पूजा’ हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । ‘म्ह पूजा’का लागि परिवारको सबै भन्दा जेठी आमाले पुजा अघि सारी आफ्नो आफै पुजा गर्न लगाइन्छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय वनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ । विदेशमा वसेका नेपालीहरूले पनि यस ‘म्ह पूजा’लाई आफ्नो मौलिक पहिचानका रूपमा मनाउने गरेको छ ।

पूजा विधि

यस पुजा शुरू गर्न सर्वप्रथम घरको बुइगलमा वा अन्य खुला कोठाको भूूईँमा ढुंगाको धुलो प्रयोग गरी परिवारका प्रत्येक सदस्यको लागि एक एकवटा मण्डल वनाइन्छ । यस वाहेक सबै भन्दा माथि एक र सवैभन्दा मुनि एक गरी दुर्इ वटा थप मण्डल देवताका लागि वनाइन्छ । यस वाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कूचोको लागि पनि मण्डल वनाइन्छ । मण्डललाई रँगहरू प्रयोग गरी सिंगारिन्छ र फलफूल, धूप, फूल, जजंका (यज्ञोपवित) आदि सामग्रीहरूले सजाइन्छ ।

परिवारका सवै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सामुन्ने परी वस्दछ । परिवारको सवैभन्दा जेठी आमाले शुरूमा सूर्य रूपी सुकुण्डालाई पुजा गरी सवै मण्डलहरू पुजा गर्दछ । तत् पश्चात् सबैलाई ‘धौ सगँ’ दहिको सगुन दिइन्छ । त्यस पछि सवैले लामो कपडाको वत्ती (खेलु इताः) मण्डल माथि बालिन्छ । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पुजा गरी जेठी आमाले सजाइएको विमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र वत्ती सवैको हातहातमा दिइन्छ र सवै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ ।

यस पश्चात् खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिई भातको जाँड तिन पटक सम्म थपी थपी खुवाइन्छ । यसरी जाँड थप्दा कचौरा भूूईँमा राख्नु हुँदैन । सगुन ग्रहण गर्दा सगुन दिने आमालाई यथाश्रद्धा दक्षिणा दिइन्छ ।

म्ह पुजा विधि स्थान, क्षेत्र, समुदाय अनुसार विविध स्वरूपमा पाइन्छ । माथि गरिएको वर्णन अनुसारको पुजा अधिकांश समुदायहरूले गर्ने विधि हुन् । विकिपिडियाबाट साभार

Facebook Comments