Sat. Jul 27th, 2024

तिहारको अन्तिम दिन आज भाइटीका भव्य रुपमा मनाईदै

काठमाडौं, २०७७ मंसिर १ गते सोमबार

तिहारको अन्तिम तर महत्वपूर्ण दिन आज भव्य रुपमा भाइटीका लगाइँदैछ । कात्तिक शुक्ल द्वितीयामा परम्पराअनुसार दिदीबहिनीबाट दाजुभाइले टीका लगाउने चलन छ । भाइटीकाका दिन दिदीबहिनीबाट विधिपूर्वक टीका लगाई दाजुभाइको दीर्घायु ऐश्वर्य सुख शान्ति र समृद्धि कामना गर्ने चलन छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

साना भाइबाट सुरु गरेर क्रमश ठूलालाई लगाइदिने भएर यसलाई भाइटीका भनिएको हो । भाइटीका लगाउँदा मण्डप बनाई, दीयो बालेर फलफूल तिहारे फूल, ओखर, बिमिरो, कट्टुस राखेर अष्टचिरञ्जीवी मार्कण्डेय, बली, परशुराम, व्यास, हनुमान, विभीषण, कृपाचार्य र अश्वत्थामाको पूजा गरिन्छ । मण्डपमा यमराज, यमुनाको समेत पूजा गरी रङ नउड्ने सयपत्री, गोदावरी र कहिल्यै नओइलाउने मखमली फूल, सधैँ फेलिइरहने दुबो, नसुक्ने तोरी तेलको घेराभित्र राखेर दिदीबहिनीले दीर्घायुको कामना गरी दाजुभाइलाई शुभसाइतका प्रतीक पाँच वा सात रंङको टीका लगादिए अकाल मृत्यु नहुने विश्वास छ । यमुनाले दाजु यमराजलाई विशेष सम्मानपूर्वक पूजाआजा गरी टीका लगाइदिएकीले त्यसै कार्यको सम्झनास्वरुप वर्षैपिच्छे भाइटीका लगाउने परम्परा बसेको पौराणिक कथन छ । निधारमा सात रङको इन्द्रेणी टीका लगाई सयपत्री मखमली तथा गोदावरी फूलको माला लगाइदिने चलन छ ।

आजको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन । तिथि घटबढका कारण केही नेवार समूदायले भने भोलि भाइटीका लगाउँदैछन् ।

तिहारको टीकाका दिन आफ्ना दिदीबहिनी नहुनेले काकाकी वा मामाकी वा मीतबाउकी छोरीबाट भए पनि टीका लगाउनुपर्छ भन्ने चलन छ । निधार खाली राख्नुहुँदैन भन्ने गरिन्छ । कुनै उपाय नलागे तुलसीको मठमा गई तुलसीकै काठले आफैँले भए पनि टीका लगाउनुपर्ने मान्यता छ । दिदीबहिनी तथा दाजुभाइ नहुनेले काठमाडौंको रानीपोखरी माझ रहेको यमलेश्वर महादेव मन्दिरमा गई दर्शन गरी भाइटीका लगाउने चलन छ । यो मन्दिर वर्षको एकदिन भाइटीकामा मात्र सर्वसाधारणलाई खुला गरिन्छ । नेवारी समुदायमा यस दिनलाई किजापूजा भन्ने चलन छ ।

घरघरमा भाइटीका लगाउने कार्य सम्पन्न भएपछि सबैसँगै बसेर सेल रोटी, अनरसा, झिलिंङालगायत परम्परागत परिकारका साथै आधुनिक मिठाइ मसलासमेत खाने गरिन्छ । खाना खाइवरी नजिकै हालिएको लिङ्गे पिङ, रोटे पिङ खेल्न जाने चलन छ । टीकाका दिन पिङ खेलेर खुशी भई भूइँ छाड्नुपर्छ भन्ने गरिन्छ । साँझ घरघरमा गई श्रीसम्पत्तिको कामना गरी देऊश्री भन्दै देउसी खेलिन्छ ।

Facebook Comments