Sat. Jul 27th, 2024

भारतीय सेनाध्यक्ष नरवणे स्वदेश फिर्ता

काठमाडौं, २०७७ कात्तिक २१ गते शुक्रबार

भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे स्वदेश फिर्ता हुनुभएको छ । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापको औपचारिक निमन्त्रणामा नेपाल आउनुभएका भारतीय स्थल सेनाध्यक्ष नरवणे तीन दिने भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फिर्ता हुनुभएको हो । नरवणेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाइ गर्नुभएको हो ।

उज्यालो अनलाईनका अनुसार शुक्रबार बिहान नरवणेले नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा गइ त्यहाँ तालिमरत शिक्षार्थीहरुलाई सम्बोधन गर्नुभएको थियो । उहाँले त्यहाँ आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगी अनुभवहरुका बारेमा बताउनुभएको थियो ।

स्वदेश फर्किनुअघि उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटघाट गर्नुभएको थियो ।

बिहीबार नरवणेले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्राप्त गर्नुभएको थियो ।

यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्ध अझ सुमधुर एवं विस्तार गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

Facebook Comments