Wed. Apr 24th, 2024

सूर्योदय नगरपालिकाले प्रथम सूर्योदय नगर महोत्सव गर्ने

काठमाडौं, २०७६ कार्तिक ३० गते शनिबार ।

इलामको सूर्योदय नगरपालिकाले प्रथम सूर्योदय नगर महोत्सव आयोजना गर्ने भएको छ। सरकारको घोषणा गरेको १ सय पर्यटन गन्तब्यभित्र पर्ने यस स्थानमा मंसिर १४ देखि १८ सम्म महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। इलामको कन्याम-फिक्कल-श्रीअन्तु सर्किट निर्माण गरी पर्यटक आकर्षित गर्न महोत्सव आयोजना गरिएको नगरपालिकाका मेयर रणबहादुर राइले बताउनुभयो।

अनलाइनखबरका अनुसार भारतको दार्जीलिङ, सिक्किम, भुटान तथा बंगलादेशबाट समेत एकै दिनमा आइपुग्ने पहाडी गन्तब्य भएकोले सुर्योदय नगरपालिकाले भारतको मिरिक नगरपालिका तथा दार्जिलिङको स्थानीय सरकारसँग पनि सहकार्य गर्न लागिएको छ।

आकर्षक सुर्योदय अवलोकन गर्ने डाँडा श्रीअन्तु, चिया बगान फिक्कल, भारतसँग सिमाना जोडिएको बजार पशुपतिनगर, रेड पाण्डा संरक्षण स्थल गोर्खेलगायतका स्थानमा महोत्सव भर विभिन्न सांस्कृतिक कार्यक्रम गरी पर्यटकलाई स्वागत गरिने भएको छ।

७३ चिया उद्योग रहेको नगरापालिकालाई टि टेस्टिङ सेन्टरको रुपमा विकास गर्ने तयारी भइरहेको नगरपालिका, वडा ९ का अध्यक्ष देबेन्द्र शर्माले बताउनुभयो। उहाँका अनुसार नगरक्षेत्रमा रहेका होटेल, रिसोर्ट तथा होमस्टेले दैनिक ३ हजार ७ सय ५० पर्यटकलाई सेवा दिन सक्छन्।

Facebook Comments