Sun. Apr 19th, 2026

काठमाण्डू महानगरबाट बाउन्न हजारभन्दा बढीले लिए निःशुल्क कानूनी सेवा

       

काठमाण्डू, २०८२ वैशाख २६ गते शुक्रबार । काठमाण्डू महानगरपालिकाबाट हालसम्म ५२ हजार ७४० जनाले निःशुल्क कानूनी सेवा लिएका छन् ।

कानून दिवसका अवसरमा विशेष अदालतले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले कानुनी सेवालाई सबैका लागि पहुँचयोग्य र सर्वसुलभ बनाउनुपर्छ भन्ने उद्देश्यसहित महानगरले निःशुल्क कानूनी सेवा दिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “कानूनी राज्य स्थापना गर्न कानुनी सेवालाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ । यसैका लागि हामीले निःशुल्क कानूनी सेवाको सुरुआत गरेका छौँ । हालसम्मको तथ्याङ्कअनुसार ५२ हजारभन्दा बढीलाई सेवा दिएका छौँ ।”

उपप्रमुख डङ्गोलले महानगरले हालसम्म ८३ पटक सुनुवाइ गरी ६८५ वटा विवादमध्ये ३२६ वटा निर्णय गरिसकेको र ९० वटा मेलमिलापबाट समाधान गरिएको जानकारी दिनुभयो । उहाँले निःशुल्क कानून सेवासँगै काठमाडौँमा मेलमिलापको सङ्ख्यामा पनि वृद्धि भएको जानकारी दिनुभयो । “हामीले कानुनी सेवालाई पहुँचयोग्य बनाउन ३२ वटै वडामा मेलमिलाप केन्द्र र महिला सञ्जालको स्थापना गरेका छौँ । लैङ्गिकताका आधारमा हुने हिंसालाई सम्बोधन गर्न, सरल, सहज अनि समयमै न्यायको अनुभूति गर्ने अवस्था बनोस् भनेर सञ्जाल बनाएका छौँ । जसका कारण न्यायका लागि न्यायिक समितिसम्म पुग्नुुपर्ने अवस्था अन्त्य भएको छ ।”

उपप्रमुख डङ्गोलले कानूनबारे अझै पनि अनभिज्ञ रहेको भन्दै नागरिकसम्म पहुँच पुग्नेगरी अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले संविधानको भाग-७ को धारा २१७ मा स्पष्टसँग न्यायिक समितिको परिकल्पना गरेको भन्दै न्यायिक समितिलाई अझै फराकिलो र बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । रासस

Facebook Comments