कविता-ए सरकार (सन्दर्भ नयाँ ऐन)
- प्रतिमा पोख्रेल (नयाँ सृष्टि)
प्रतिमा पोख्रेल (नयाँ सृष्टि)
ए सरकार तिमी को हौ ?
कुन निरंकुशताका तानाशाह हौ तिमी ??
आक्रोशका बिया फुटाउदै
जनसागरले दलानमै आन्दोलनको
सुनामी चलाइरहदा
झ्याल ढोका थुनेर चुपचाप सुतिरहने
तिमी कुन युगको कुम्मकर्ण हौ ??
जनताको भावनामा ताल्चा मार्दै
मगन्तेको झोलिमा आगो सल्काउदै
बेचिएको नैतिकता र
भाचिएको स्वाभिमान बोकेर
निष्पट क्यान्भाष भित्र
एक्लै बर्बराइरहने
कुन क्रूर शासक हौ तिमि ?
सरकार ! नयाँ ऐन जारी गर्देउ भन्दै
लाखौं शिक्षकले
तिम्रो ढोकामा ढ्क्ढ्क्याउदै कराईरहदा
सुन्दै नसुन्ने कुन अटेर
परजीवी थार्किनो हौ तिमि ?
अधिकारको बागडोर
आफ्नो गोजिमा राखेर
सिंह ले झैं !आलो पालोमा
जन जनमा सिकार खेलिरहने
कुन तन्त्रका महाराज हौ तिमी ???
ए सरकार !!!
करोडौं मनहरुलाई डसेर
माथिल्लो धन्सारमा बसिरहने
कुन कालो गोमन हौ तिमी ??
ए सरकार !!
हाम्रो नागरिकताको अपमान र
संविधानको उल्लंघन गर्छौ भने
हाम्रा आवाजको सुनुवाइ हुँदैन भने
खबरदार ! बाङ्लादेश को झैँ
तिम्रो दरबार भित्र पनि
जनताको बाढी पसेर
ध्वस्त नबनाउला भन्न सकिन्न
” होइन भने सरकार ”
तिमी संग कुनै अंस र दाईजो
माग्न आएक होइनौं
मात्रै तिम्रो कब्जामा रहेको ”
एक थान नयाँ ऐन माग्न आएका हौं ।
यदि ! तिम्रो कलमका निपहरुले
कालो मसि रुचाएन भने
आउ शिक्षक संग ज्यानको बलि माग र
सक्छौ भने सडकमै छ्प्क्याउ हाम्रा शिरहरु
उठाएर लैजाउ सिंहदरवारमा तातो रगत
भरिदेउ रित्ता निर्जन कलमहरु र
लेखिदेउ रातो मसिले एक थान शिक्षा ऐन
अनि !! सुनाइदेउ भावी पुस्तालाई
नयाँ ऐन जारी भएको कुरा ….।
-प्रतिमा पोख्रेल (नयाँ सृष्टि)
अरुण गाउँपालिका – ५
भोजपुर

