Mon. Apr 29th, 2024

चीन र नेपालबीच मित्रता मात्र छ, विवाद छैन

काठमाडौं, २०७६ कार्तिक ३० गते शनिबार ।
काठमाडौंस्थित चिनिया राजदूतावासले चीन र नेपालबीच मित्रता मात्र भएको, विवाद नभएको बताएको छ । नेपाली पर्यटन व्यवसायीहरुको लागि चौथो चिनिया भाषा प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्दै चिनिया राजदूतावासका राजनीतिक तथा प्रेस विभागका प्रमुख वाङ स्याओलोङले शुक्रबार सो विचार व्यक्त गर्नु भएको हो ।

नेपाल पर्यटन बोर्डमा आयोजित सो कार्यक्रममा बोल्दै उहाँले नेपाल–चीन सधैं असल छिमेकी, असल मित्र र असल सहयोगी रहि आएको बताउनु भयो । सार्वभौमसत्ता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता जस्ता प्रमुख विषयमा चीन र नेपालले एक अर्कालाई दृढ समर्थन गरेका छन्, उहाँले भन्नु भयो “दुई देशबीच मित्रता मात्र छ, विवाद छैन” । “गत अप्रिलमा नेपालका महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजाकिय भ्रमण गरी दोस्रो “बेल्ट एन्ड रोड” अन्तर्राष्ट्रिय सहयोग फोरम सम्मेलनमा भाग लिनु भयो र राष्ट्रपति सि चिनफिङसँग फलदायी वार्ता पनि भयो ।

केही समय अगाडि मात्रै चिनिया राष्ट्रपति सीले नेपालको ऐतिहासिक भ्रमण गर्नुभयो र द्विपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्यो । चीन र नेपाल एउटै डुंगामा सवार भई दुबै पक्षको हितको लागि, मित्रताको रणनीतिक साझेदारी निर्माण गरी विकास र समृद्धिको पक्षमा द्विपक्षीय सम्बन्धको भविष्यको विकासको लागि एक नयाँ गति निर्माण गर्न सहमत छन्” उहाँले भन्नु भयो ।

नेपालको पर्यटन क्षेत्रको बारेमा बोल्दै वाङ स्याओलोङले भन्नु भयो “सुन्दर दृश्य, विविध लोक रीतिथिति र प्रचुर पर्यटन स्रोतहरूको साथ नेपाल चिनियाँ पर्यटकहरुका लागि महत्वपूर्ण गन्तव्य हो । राष्ट्रपति सीको नेपाल भ्रमणको सिलसिलामा दुबै पक्षले अझ बढी जनस्तरको सद्भाव र पर्यटन तथा अन्य क्षेत्रमा आदान प्रदानको लागि सहमति जनाए । चीन दुई पक्षका नेताहरुबीच भएको सहमतिलाई संयुक्त रुपमा कार्यान्वयनको लागि नेपाली पक्षसँग काम गर्न इच्छुक छ ।”

नेपाल पर्यटन बोर्डले जारी गरेको पछिल्लो तथ्याङ्क उल्लेख गर्दै उहाँले यस बर्षको पहिलो १० महिनामा १ लाख ३० हजार भन्दा बढी चिनिया पर्यटकहरु नेपाल आएको जानकारी दिनुभयो । चीन नेपालको दोस्रो ठूलो र सबभन्दा द्रुत बृद्धि दर रहेको पर्यटन स्रोत बन्न पुगेको छ भन्दै उहाँले अक्टोबर महिनाको २७ तारिखमा चीन र नेपालबीच पैचिंग–काठमाडौंको सिधा हवाई सेवा सुरु भएको जानकारी दिनुहुँदै सो हवाई सेवाले चिनिया पर्यटकलाई नेपाल आउने नयाँ हावाईमार्ग उपलब्ध गराएको बताउनु भयो ।

उहाँले भन्नु भयो “अर्को वर्ष(सन् २०२०) नेपालको पर्यटन वर्ष हो । चीन बढी भन्दा बढी चिनिया पर्यटकहरुलाई नेपाल आउन प्रोत्साहित गर्न इच्छुक छ । साथै अन्तर्राष्ट्रिय इम्पोर्ट एक्सपोर्ट र अन्य प्लेटफार्महरू सक्रिय रूपमा नेपालको पर्यटन प्रवद्र्धन गर्न नेपाललाई स्वागत गर्दछ, जसका कारण अझ बढि चिनिया नागरिकले नेपालको सुन्दरता र आकर्षकताको जानकारी पाउन ।” चिनिया पर्यटकको बृद्धिले चिनिया भाषा जान्ने नेपालीको माग पनि बढने उहाँको भनाई छ ।

उहाँले भन्नु भयो “मलाई विश्वास छ यस प्रशिक्षणको माध्यमबाट तपाईंहरुले आफूले सिकेका कुराहरू कार्यक्षेत्रमा लागू गर्न सक्नुहुन्छ, आफ्नो जीविका विकासको मार्ग खोल्न सक्नुहुन्छ, र पर्यटनको विकासलाई बढावा दिन र दुई देशबीचको मित्रता बढाउन सकारात्मक योगदान पुर्याउन सक्नुहुन्छ ।”

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले चिनिया भाषा प्रशिक्षण कार्यक्रमले भाषा शिक्षणलाई मात्र वल नपुर्याएर संस्कृति, पर्यटन प्रवद्र्धन भाइचारा एवम् आपसी समझदारी लगायतको क्षेत्रमा पनि सहयोग पुर्याउने बताउनु भयो । सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको प्रसंग उल्लेख गर्दै सहसचिव आचार्यले २० लाख पर्यटक भित्रियाउने लक्ष्य अनुरुप सन् २०२० मा ५ लाख चिनिया पर्यटक भित्रियाउन नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल भ्रमण वर्ष २०२० सचिवालय लागेको जानकारी दिनुभयो ।


नेपाल र चीनबीच पछिल्लो हवाई सम्झौता सम्पन्न भए पश्चात दुवै देशबीच प्रत्येक हप्ता ९८ वटा हवाई उडान भैरहेको जानकारी दिनु हुदै आचार्यले निकट भविष्यमै चीनको छाङसा र सन्चन् तथा कुइलिङमा हिमालय एयर लायन्सले उडान भर्ने योजना रहेको बताउनु भयो । साथै चीनको प्रमुख व्यापारिक शहर क्वान्चौ मा पनि नेपाल वायु सेवा निगमको उडानको लागि समन्वय भैरहेको जानकारी दिनुभयो ।


भाषा प्रशिक्षणमा सहभागी पर्यटन व्यवसायी तथा विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुहुँदै सहसचिव आचार्यले नेपालको पर्यटन प्रवद्र्धनमा भाषा प्रशिक्षणमा सहभागीहरुको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन क्षेत्रको विकासमा चिनिया भाषाको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । नेपाल भ्रमण वर्ष २०२० लाई सक्दो सहयोग गर्ने चीन सरकारको प्रतिवद्धताले नेपाली पर्यटन व्यवसायीहरु निक्कै उत्साही भएको बताउदै उहाँले सञ्चार, उद्योग, व्यापार तथा शीप आदान प्रदानमा समेत चिनिया भाषा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।


चिनिया भाषाको माग काठमाडौं उपत्यका मा मात्र नभएर देशका अन्य क्षेत्रमा पनि भएकोले चिनिया भाषाको प्रशिक्षणका लागि उपत्यका बाहिर पनि कक्षा सञ्चालन गर्ने वातावरण मिलाउन जोशीले चीन सरकारलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा.हरिशचन्द्र शाहले सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा नेपालमा ५ वर्ष भित्रमा २ सय जना चिनिया भाषा तालिम दिने उद्देश्य अनुरुप तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । प्राचिन कालदेखि नै नेपाल र चीनबीच प्रगाढ सम्बन्ध रहेको बताउँदै डा.शाहले चिनिया भाषा कक्षाले सो सम्बन्धलाई अझ दरिलो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सन् २०१९ को मार्च २७ तारिखदेखि सुरु भएको ६ महिने चिनिया भाषा प्रशिक्षण कार्यक्रमको दौरानमा प्रशिक्षार्थीहरुले चिनिया भाषामा लेखपढ गर्ने, चिनिया संस्कृतिको जानकारी लिने लगायतका क्रियाकलापमा सफलता हासिल गरेको जानकारी दिनुभयो । साथै डा.शाहले तालिममा सहभागी ५४ जना मध्ये ५१ जनाले चिनिया भाषा स्तर परीक्षा अन्तर्गत ज्क्प् द्द र ज्क्प् घ पास गरेको पनि बताउनु भयो ।


अन्तमा डा. शाहले भाषा कक्षा सञ्चालना सहयोग पुर्याएकोमा चीन सरकार, चिनिया राजदूूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, काठमाडौंस्थित कन्फ्युसियस इष्टिच्युट, भाषा शिक्षक तथा विद्यार्थी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

Facebook Comments