विराटनगर महानगरमा एमाले संस्थापन पक्षलाई अर्काे झड्का: गिरी अध्यक्षमा विजयी
विराटनगर, २०८२ वैशाख ५ गते शुक्रबार । नेकपा एमाले संस्थापन पक्षलाई विराटनगरमा अर्काे झड्का लागेकाे छ । एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनमा संस्थापन पक्षलाई पराजित गर्दै नेता विनाेद ढकाल प्यानल विजयी भएकाे हाे ।
केही समयअघि भएको जिल्ला अधिवेशनको झल्को दिनेगरी महानगर कमिटीको पदाधिकारीमा पनि इतर समूहले क्लिन स्वीप गरेको छ ।
संस्थापन पक्षका राेहित काेइरालालाई पराजित गर्दै नेता ढकाल पक्षका बलराम गिरी (नवीन) अध्यक्षमा विजयी भएका छन् । विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा शुक्रबार बिहानका सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार संस्थापन पक्षका कोइरालालाई ५२ मतान्तरले पराजित गर्दै गिरी विजयी भएका हुन् । गिरीले १ सय ७३ मतले विजयी हुँदा कोइरालाले १ सय २१ मत प्राप्त गर्यो ।
उपाध्यक्षमा ढकाल पक्षका सुवासप्रसाद न्यौपाने (सुरज)ले १ सय ४५ मत ल्याएर विजयी हुँदा संस्थापन पक्षका राम पोखरेल १ सय ३६ मत ल्याएर पराजित भए । उनी विराटनगर महानगर वडा ८ का बहालबाला वडाध्यक्ष हुन् ।
सचिवमा ढकाल पक्षका विज्ञान शर्मा चापागाईं १ सय ८३ मतसहित विजयी हुँदा संस्थापन पक्षका नवराज काफ्ले १ सय ४ मत ल्याएर पराजित भए । उपसचिवमा हमिद आजाद, महिला उपसचिवमा हिमा मैनाली पोखरेललगायतले विजयी भएका हुन् ।
अधिवेशनका लागि ३ सय १४ जना प्रतिनिधि थिए । बिहीबार राति मतदान सकिँदा ३ सय ८ मत खसेको थियो ।
यो अधिवेशन संस्थापन पक्षका लागि गम्भीर झट्का बनेको छ । जिल्ला अधिवेशनदेखि सक्रिय भूमिका खेलेका नेता विनोद ढकालले संस्थापनलाई दोस्रो झट्का दिएका हुन् ।

