Mon. Apr 20th, 2026

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त     

- चीन-अमेरिका व्यापार विवाद

       

पैचिङ,  २०८२ वैशाख ३ गते बुधबार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा चीनले प्रतिशोधात्मक उपाय अवलम्बन गरेपछि बढेको तनाव व्यवस्थापनमा पहल गर्न भन्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले बुधबार नयाँ बाणिज्य दूत नियुक्त गरेको जनाएको छ ।

पैचिङको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा ली छङकाङले अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि प्रतिनिधि र वाणिज्य उपमन्त्रीको भूमिका निर्वाह गर्नुहुनेछ ।

यसअघि विश्व व्यापार संगठनका लागि पैचिङका राजदूत र स्विट्जरल्याण्डको जेनेभामा संयुक्त राष्ट्रसंघका लागि उपस्थायी प्रतिनिधिका रुपमा काम गरिसकेका ५८ वर्षीय लीलाई कुशल कुटनीतिज्ञका रूपमा हेर्ने गरिएको छ ।

उहाँले चीनको पेकिङ विश्वविद्यालय र जर्मनीको युनिभर्सिटी अफ ह्याम्बर्गबाट कानूनमा डिग्री हासिल गर्नुभएको छ । उहाँलाई वाङ शौवेनको उत्तराधिकारीका रूपमा जिम्मेवारी तोकिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   वाङले सन् २०२० मा चीन र अमेरिकाबीच व्यापार सम्झौता गर्ने वार्तामा भाग लिनुभएको थियो ।

ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै पैचिङ र वासिङ्टनबीच करबारे चर्काचर्कीको खेल सुरु भएको छ । प्रतिशोधका कारण चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशत पुगेको छ भने अमेरिकी सामानमा पैचिङको कर १२५ प्रतिशत पुगेको छ ।

चीनले आफ्नो अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.४ प्रतिशतले वृद्धि भएको बुधबार बताएको छ, जुन अपेक्षाभन्दा माथि भएको बताइएको छ । एएफपी

Facebook Comments