Thu. Apr 23rd, 2026

राससका पत्रकार तथा कर्मचारी पुरस्कृत   

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बुधबार राष्ट्रिय समाचार समिति (रासस)को ६४औँ वार्षिकोत्सव समारोहमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाले प्रदान गरेको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ रासस अङ्ग्रेजी शाखाका वरिष्ठ कार्यकारी सम्पादक मनोज कार्कीलाई प्रदान गर्नुहुँदै । तस्बिरः नवीन पौडेल/रासस

       

काठमाण्डू, २०८१ फागुन ७ गते बुधबार । राष्ट्रिय समाचार समिति (रासस)ले संस्थाको ६४औँ वार्षिकोत्सवका अवसरमा संस्थामा कार्यरत छ विधामा १२ जनालाई पुरस्कृत गरेको छ ।

राससको केन्द्रीय कार्यालय भद्रकालीमा आज आयोजित वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उहाँहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

उत्कृष्ट सम्पादनतर्फको पुरस्कार अन्तरराष्ट्रिय समाचार सम्पादन शाखाका सम्पादक दिलीपप्रसाद शर्मा र नेपाली समाचार सम्पादन शाखाका वरिष्ठ सम्पादन सहयोगी छविलाल कुमालले प्राप्त गर्नुभयो । उहाँहरूले जनही रु १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

उत्कृष्ट समाचार सङ्कलनतर्फ भरतपुर कार्यालय प्रमुख नारायणप्रसाद अधिकारी र केन्द्रीय कार्यालयका समाचारदाता कालिका खड्का पुरस्कृत हुनुभयो । उहाँहरूले जनही रु १० हजार र प्रमाणपत्र प्राप्त गर्नुभयो । उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार हरिराम भेटवालले प्राप्त गर्नुभयो ।

त्यसैगरी उत्कृष्ट जिल्ला समाचारदाताको पुरस्कार ललितपुरका माधवप्रसाद घिमिरे, कैलालीका तिलकराज ओझा र सुनसरीकी सङ्गीता राईले प्राप्त गर्नुभयो । उहाँहरुले जनही रु २० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

उत्कृष्ट आलेख विधातर्फ झापाका विशेष समाचारदाता चन्द्रकला भण्डारी र सहायक सम्पादक टिकाराम सुनार पुरस्कृत हुनुभयो । उहाँहरुले प्रमाणपत्रका साथमा जनही रु १० हजार प्राप्त गर्नुभयो ।

पत्रकार भण्डारीको गत जेठ ३० गते प्रकाशित ‘बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो’ र सुनारको मङ्सिर २१ गते प्रकाशित ‘मनोरञ्जन क्षेत्रमा हिंसा, रङ्गीन क्षेत्र नै रङ्गहीन’ शीर्षकका आलेख उत्कृष्ट भएका हु्न् ।

उत्कृष्ट कर्मचारीतर्फको पुरस्कार केन्द्रीय कार्यालयका कार्यालय सहयोगी राजिनन साह र मधेस प्रदेश कार्यालय जनकपुरका कार्यालय सहयोगी सूर्यप्रसाद बरालले प्राप्त गर्नुभयो । उहाँहरुले जनही नगद रु १० हजार र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

नायब महाप्रबन्धक तथा समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा गठित पुरस्कार छनोट सिफारिस उपसमितिको सिफारिसलाई सञ्चालक समितिले अनुमोदन गरी पुरस्कृत छनोट गरिएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)ले ६४औँ वार्षिकोत्सवका अवसरमा तीन सेवाग्राहीलाई सम्मान गरेको छ । सेवाग्राही सम्मान पाउनेहरुमा सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन), अनलाइन खबर डटकम र पोखरास्थित समाधान दैनिक रहेका छन् ।

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससबाट वितरण हुने ‘आदत्यिध्वज जोशी स्मृति पुरस्कार–२०८१’ बाट अङ्ग्रेजी शाखाका कार्यकारी सम्पादक मनोज कार्की र फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशी जनही रु सात हजार पाँच सय रहेको छ ।

रासस कर्मचारी सङ्घबाट वितरण हुने ‘वासु रिमाल यात्री स्मृति पुरस्कार–२०८१’ बाट रासस कोशी प्रदेशका कार्यालय विराटनगरका वरिष्ठ समाचारदाता मोहम्मद सदरुल र रासस केन्द्रीय कार्यालयका सहायक मैना थापा पुरस्कृत हुनुभयो । उहाँहरुले जनही नगद रु सात हजार सात ७७ र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घबाट वितरण हुने ‘रासस पत्रकारिता पुरस्कार–२०८१’ बाट नेपाली समाचार सम्पादन शाखाका सहायक सम्पादक विक्रम गिरी र फोटो सम्पादन शाखाका फोटो सम्पादक किरण भट्टराई पुरस्कृत हुनुभयो । उहाँहरुले जनही रु १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार