Tue. Apr 21st, 2026

विपक्षी दल सुशासनका पक्षमा एकताबद्ध हुने

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलहरुको संयुक्त बैठक । तस्बिरः गोपाल दाहाल/रासस

       

काठमाण्डू, २०८१ माघ १७ गते बिहीबार । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्रसहितका विपक्षी दलले संसद् बैठकमा जनजीविकाका सवाललाई प्राथमिकताका साथ उठाउने निर्णय गरेका छन् ।

सिंहदरबारमा आज बसेको विपक्षी दलको बैठकले महँगी तथा भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा एकताबद्ध भएर संसद्मा प्रस्तुत हुने निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकले सदनमा बहुमत हुँदाहुँदै पनि अध्यादेश जारी गरेर सरकारले गलत गरेको निष्कर्ष निकालेको प्रमुख सचेतक पाण्डेले बताउनुभयो ।

शुक्रबारदेखि सङ्घीय संसद्को अविधेशन प्रारम्भ हुँदैछ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी हुनुहुन्थ्यो । रासस

Facebook Comments