Thu. Jun 4th, 2026

हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ जना कैदी रिहाः आईसीआरसी   

       

साना/ यमन, २०८१ माघ १३ गते आइतबार । यमनका हुथी विद्रोहीले शनिबार १५३ जना ‘द्वन्द्वसँग सम्बन्धित’ कैदीलाई रिहा गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी)ले जनाएको छ ।

सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले कब्जा गरेको यमनको राजधानी सानामा ती कैदीलाई रिहा गरिएको हो ।

कैदीलाई रिहा गरिएको पुष्टि गर्दै यमनस्थित आईसीआरसीका प्रतिनिधिमण्डल प्रमुख क्रिस्टीन सिपोलाले भन्नुभयो, “यो अभियानले आफ्ना प्रियजनको फिर्तीको व्यग्र प्रतिक्षा गरिरहेका परिवारका लागि अति आवश्यक राहत र आनन्द ल्याएको छ ।”

यसैबीच हुथी विद्रोही समितिका प्रमुख अब्दुलकादिर अल मुर्तदाले एक वक्तव्य जारी गर्दै यो पहल मानवीय कारणले एकतर्फी रुपमा गरिएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “रिहा भएकामध्ये अधिकांश बिरामी, घाइते, वृद्धवृद्धालगायत मानवीय सहयोग आवश्यक व्यक्ति हुन् ।”

इरान समर्थित हुथी विद्रोहीले विद्रोहीको कब्जामा रहेको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसङ्घका सात जना सैनिकलाई बिहीबार हिरासतमा लिएपछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विरोध जनाउनुभएको थियो ।

गुटेर्रेसले यमनमा रहेका संयुक्त राष्ट्रसंघका सबै कर्मचारीलाई तत्काल र बिनाशर्त रिहा गर्न माग गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनीहरूलाई हिरासतमा राखिनु राष्ट्रसङ्का लागि अस्वीकार्य छ ।”

हुथी विद्रोहीले संयुक्त राष्ट्रसङ्घ र अन्य मानवीय संस्थाका दर्जनौँ कर्मचारीलाई अमेरिकी–इजरायली जासुसी गिरोहको आरोपमा गत वर्षको मध्यदेखि नै हिरासतमा लिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीलाई विदेशी आतङ्कवादी सङ्गठनको सूचीमा फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि पनि शनिबारको रिहाई भएको हो ।

हुथी विद्रोहीलाई पुनः सूचीकृत गर्दा यमनमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय निकाय र अमेरिकी अनुदान प्राप्त गर्ने अन्य गैरसरकारी संस्थाहरूको पुनरावलोकन हुने बुधबार हस्ताक्षर गरिएको आदेशमा उल्लेख छ ।

एक दशक लामो युद्धले यमनलाई विश्वकै सबैभन्दा खराब मानवीय सङ्कटमा फसाएको छ र एक करोड ८० लाख मानिसलाई सहायता र सुरक्षाको खाँचो रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

गत मे महिनामा हुथी विद्रोहीले ११३ जना कैदीलाई एकतर्फी रुपमा रिहा गरेका थिए । अप्रिल २०२३ मा विद्रोही र यमन सरकारले करिब एक हजार युद्धबन्दीको आदानप्रदान गरेका थिए ।

आईसीआरसीले कैदीहरूलाई रिहा गर्नुअघि रिहाईपूर्व अन्तर्वार्ता र स्वास्थ्य परीक्षण गरेको र उनीहरूलाई घर फर्कने व्यवस्था मिलाउन सहयोग गरेको बताएको छ ।

सन् २०१४ को सेप्टेम्बरमा हुथी विद्रोहीले सानामाथि कब्जा जमाएपछि सन् २०१५ को मार्चमा साउदी अरबको नेतृत्वमा हुथीविरूद्ध हस्तक्षेप भएको थियो र यसले प्रत्यक्ष र अप्रत्यक्षगरी लाखौं मानिसको ज्यान लिइसकेको छ ।

सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामले युद्धमा निकै कमी आएको छ । तर विद्रोहीहरूले गाजा युद्धको समयमा इजरायल र ‘रेड सी’को पानीजहाजमा आक्रमण गरी हमासको इजरायलविरोधी आक्रमणलाई सघाएका थिए । बदलामा अमेरिका, इजरायल र बेलायती सेनाले हुथीविरूद्ध आक्रमण गरेका थिए ।   एएफपी

Facebook Comments